Latest News

समाजवादी प्रेसका केन्द्रीय नेताले पनि बुझे ज्वालामूखीको कृषि अनुदान, महालेखाले उठायो प्रश्न

Nepalese Times May 2, 2025 (11 Hour ago)    838 Views

धादिङ । महालेखाको ६१ औँ प्रतिवेदनले धादिङको ज्वालामूखी गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा वितरण गरेको १८ लाख रुपैयाँ कृषि अनुदान रकमलाई अनियमित भनेको छ ।

महालेखाले अनियमित ठहर्याएका ३ वटा कृषि फर्महरुमा साकार पोल्ट्रि फार्म, त्रिपुरा सुन्दरी पशुपक्षी तथा फलफूल फर्म र मिश्रि पशुपक्षी तथा फलफूल फर्म रहेका छन् ।

यी ३ वटा फार्महरुमध्ये सबैभन्दा बढी अनुदान रकम त्रिपुरा सुन्दरी पशुपक्षी तथा फलफूल फर्मले बुझेको छ । जुन फर्मको संचालक नेपाली कांग्रेसको ज्वालामूखी गाउँपालिका पार्टी सभापति रेशमलाल काप्री रहेका छन् । उनले पालिकासँग १४ लाख रुपैयाँ बराबरको अनुदान रकममा सम्झौता गरेर ७ लाख रुपैयाँ स्वलगानी देखाएर ७ लाख रुपैयाँ अनुदान भुक्तानी बुझेका छन् ।

महालेखाले अनियमित देखाएकोमध्ये अर्को हो साकार पोल्ट्रि फर्म । यो फर्मले पनि ५० प्रतिशतकै हाराहारीमा स्वलगानी देखाएर पालिकासँग ५ लाख रुपैयाँ अनुदान रकम बुझेको छ । यो फार्मको संचालक रहेका छन् माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका केन्दीय वरीष्ठ उपाध्यक्ष नवराज छत्कुलीको । उनी नेपाल पत्रकार महासंघ धादिङका पूर्वअध्यक्षसमेत हुन् ।

हाल उनी राष्ट्रिय स्तरमा मात्रै पत्रकार संगठनको नेतृत्व गरिरहेका छैनन् । उनी अन्तर्राष्ट्रिय पत्रकार महासंघमासमेत आवद्ध छन् । छत्कुली सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघको केन्द्रीय समिति कोषध्यक्षसमेत हुन् । धादिङ मिडिया नेटवर्क प्रालि र इन्द्रेणी सोलुसन्स प्रालिका अध्यक्षसमेत रहेका उनी नेपाल नेत्रज्योति संघ बागमती प्रदेशका उपसभापतिसमेत हुन् ।

साकार पोल्ट्रि फर्म पालिकाको रेकर्डमा छैन
महालेखाले अनियमित देखाउनेगरी ज्वालामूखी गाउँपालिकाले वितरण गरेको अनुदान रकम बुझ्ने साकार पोल्ट्री फार्म ज्वालामूखी गाउँपालिकामा भने दर्ता गरिएको छैन । पालिकाका सूचना अधिकारी अनिता छत्कुलीले नेप्लिज टाइम्ससँग कुरा गर्दै भनिन्, ‘साकार पोल्ट्रि फर्म ज्वालामूखी गाउँपालिकामा दर्ता भएको भेटिएन ।’

साकार पोल्ट्रि फार्म ज्वालामूखी गाउँपालिकामा दर्ता नभएको स्वयं अनुदान प्राप्तकर्ता नवराज छत्कुलीले पनि स्वीकार गरेका छन् । तर, अनुदान रकम लिनका लागि पालिकामा दर्ता नै भएको या पालिकाको करको दायरामा आउनै पर्छ भन्ने नरहेको छत्कुलीको तर्क छ ।

‘साकार पोल्ट्रि फार्म हामीले घरेलु तथा साना उद्योग कार्यलय हाल उद्योग तथा वाणिज्य कार्यलय धादिङमा दर्ता गरेका छौँ’, छत्कुलीले नेप्लिज टाइम्ससँग भने, ‘अनुदान रकम प्राप्त गर्नका लागि ज्वालामूखी गाउँपालिकामा पनि दर्ता गरेर थप करको दायरामा आउनैपर्छ भन्ने अनिवार्य छैन ।’ उनको भनाइ अनुसार साकार पोल्ट्रि फर्म घरेलु तथा साना उद्योग कार्यलयमा दर्ता गरेर ज्वालामूखी गाउँपालिकाभित्रै संचालन गरिएको छ ।

साकार पोल्ट्रि फार्म मेरै हो, अनुदान लिएकै हुँ – छत्कुली
नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय वरीष्ठ उपाध्यक्षदेखि विभिन्न राष्ट्रियदेखि अन्तर्राष्ट्रिय संघसंस्थामा आवद्ध छत्कुलीले आफूले ज्वालामुखी गाउँपालिकाबाट ५ लाख रुपैयाँ अनुदान रकम लिएको स्वीकार गरेका छन् । तर उनले सबै प्रक्रिया पुरा गरेर नै कानुन सम्वत नै अनुदान रकम बुझेको दाबी गरे ।

आफूले खोरमा ३ सय देखि ४ सयवटा कुखुरा राखेर, सबै प्रक्रिया पुरा गरेर, कानुनी दायराभित्रै रहेर अनुदान रकम बुझेकोले प्रश्न उठाउने ठाउँ नै नरहेको उनको तर्क छ ।

तर, महालेखाले उठायो प्रश्न
समाजवादी प्रेस संगठनका केन्द्रीय वरीष्ठ उपाध्यक्ष नवराज छत्कुलीले कुखुरा पालन गर्न नै नहुने या उनले अनुदान रकम लिन नै नमिल्ने भन्ने होइन । कानुनी दायराभित्र रहेर सबै विधि पुरा गरेर सत्ता र शक्तिभन्दा बाहिर रहेर जो कसैले पनि प्रक्रियामा सहभागी हुन पाउँछन् ।

तर, महालेखाले नै समाजवादी प्रेस संगठनका केन्द्रीय वरीष्ठ उपाध्यक्ष छत्कुलीले बुझेको ५ लाख रुपैयाँ अनुदान रकमलाई अनियमित रकमको रुपमा राखिदिएको छ । यो रकम नियमसंगत नदेखिएको र विधिभन्दा बाहिर गएर वितरण गरिएको महालेखाले आफ्नो ६१ औँ प्रतिवेदनमा उल्लेख गरिदिएको छ ।

ज्वालामूखी गाउँपालिकामा २ कार्यकालसम्म निरन्तर नेपाली कांग्रेसको नेतृत्व छ । यसअघि कांग्रेसकै विनोद तिमल्सिना पालिका अध्यक्ष भएकोमा अहिले भने नेपाली कांग्रेसबाटै निर्वाचित पालिका अध्यक्ष छन् यमनाथ दनै ।

यस्तै पालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका धर्मराज अर्याल रहेका छन् । पछिल्लो स्थानीय तहको चुनावमा चुनावी गठबन्धन बनाएर पालिकाको अध्यक्ष र उपाध्यक्षमा भागबण्डा गरिएको थियो ।

पालिकाको अध्यक्ष कांग्रेसको हातमा रहेकोमा कांग्रेसकै पालिका सभापतिलाई र पालिकाको उपाध्यक्ष नेकपा एकीकृत समाजवादीको हातमा रहेको समयमा एकीकृत समावादी निकट पत्रकार संगठनकै केन्द्रीय नेताको हातमा अनुदान रकम गएकोमा प्रश्न उठेको छ । त्यसमाथि पनि महालेखाले नै अनियमित रकमको रुपमा राखिदिएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ मा वितरणमुखी खर्च नियन्त्रण गर्दै संघ तथा प्रदेशबाट प्राप्त रकम स्थानीय पूर्वाधार विकास तथा दिर्घकालिन पुँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अनुसार नाफा कमाउने उदेश्यले स्थापित संस्थालाई अनुदान रकम उपलब्ध गराउन मिल्दैन ।

तर ज्वालामूखी गाउँपालिकाले नेपाली कांग्रेसको पालिका सभापति रेशमलाल काप्री र समाजवादी प्रेस संगठनका केन्द्रीय वरीष्ठ उपाध्यक्षसमेतलाई अनुदान रकम वितरण गरेर अनियमित गरेको महालेखाको प्रतिवेदनले देखाउँछ ।

यसबारे ज्वालामूखी गाउँपालिकासँग सूचनाको हक नै प्रयोग गरेर थप विवरण माग गर्दा पालिकाले सूचनासमेत लुकाउने प्रयास गरिरहेको छ । ज्वालामूखीलाई राष्ट्रिय सूचना आयोगलेसमते ७ दिनभित्र लिखित जवाफ पेस गर्न या कानुन सम्वत सूचना उपलब्ध गराउन आदेश गरेको छ ।

 ज्वालामूखी गाउँपालिकासँग सम्बन्धित समाचारहरु

ज्वालामूखीमा बेथितिः कांग्रेसको पालिका सभापतिलाई १६ लाख कृषि अनुदान ! (प्रमाणसहित)

ज्वालामूखीले लुकाएको अर्को प्रमाण: कम्प्युटरको ‘सामान्य भाइरस’ हटाउँदा पनि लाखौँ अनियमित ?

ज्वालामूखी गाउँपालिकामा १८ लाख रुपैयाँ अनियमितता, कसको खल्तीमा कति ? (विवरणसहित)

ज्वालामुखीमा सरकारी मोटरसाईकलको दुरुपयोग, घाईते नाबालक अस्पतालमा, चालकलाई उन्मुक्ति

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

प्रतिक्रिया दिनुहोस