धादिङ । धादिङको ज्वालामूखी गाउँपालिकामा कृषि अनुदान रकम नेताको खल्तीमा गएको भेटिएको छ, त्यो पनि नियम विपरित ।
निरन्तर २ कार्यकाल नेपाली कांग्रेसले जित्दै आएको ज्वालामुखीमा कांग्रेसकै नेताले कृषि अनुदान रकम बुझेको प्रमाण नेप्लिज टाइम्सले फेला पारेको छ ।
गाउँपालिकाका अहिलेका अध्यक्ष यामनाथ दनै नेपाली कांग्रेसका हुन् । त्यसअघिको कार्यकालमा पनि नेपाली कांग्रेसकै विनोद तिमल्सिना गाउँपालिकाका अध्यक्ष रहेका थिए । नेपाली कांग्रेसको ज्वालामूखी गाउँपालिका सभापति रेशमलाल काप्रीले वडा नम्बर ५ खरीमा त्रिपुरा सुन्दरी पशुपंक्षी तथा फलफूल फर्म दर्ता गराएका छन् ।
पालिकामा आफ्नै पार्टीको अध्यक्ष रहेको मौकामा काप्रीले १६ लाख रुपैयाँ अनुदान रकममा सम्झौता गरेर किसानको नाममा राज्यको पैसा आफ्नो खल्ती भरेका हुन् ।
पशु प्रवद्र्धन कार्यक्रमका लागि भन्दै पार्टीको गाउँपालिका सभापति काप्रीले आर्थिक वर्ष २०७९–८० मा १६ लाख रुपैयाँको कृषि अनुदानमा सम्झोता गरेको दुई पक्षीय सम्झौतापत्र नेप्लिज टाइम्सले फेला पारेको छ ।
सम्झौतापत्र अनुसार १६ लाख रुपैयाँको पशु प्रवद्र्धन कार्यक्रममध्ये गाउँपालिकाको तर्फबाट ८ लाख रुपैयाँ उपलब्ध गराइएको देखिन्छ ।
गाउँपालिकामार्फत प्राप्त ४ लाख रुपैयाँ अनुदान र अरु ४ लाख रुपैयाँ स्वलगानी गरेर ८ लाख रुपैयाँल खोर मर्मत गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
यस्तै गाउँपालिकामार्फत प्राप्त ४ लाख रुपैयाँ अनुदान र अरु ४ लाख रुपैयाँ स्वलगानी गरेर ८ लाख रुपैयाँले मलमुत्र व्यवस्थापनका लागि ट्यांकी निर्माण गर्नुपर्ने सम्झौतापत्रमा भनिएको छ । यस विषयमा उनीसँग पटक-पटक सम्पर्क गरेर प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन नै चाहेनन् ।
अनुदान बुझ्ने फर्म पालिकाको रेकर्डमै भेटिएन
ज्वालामूखी गाउँपालिकाले १० लाख रुपैयाँको कृषि अनुदान रकमको सम्झौतापत्रमा हस्ताक्षर गरेर ५ लाख रुपैयाँ अनुदान रकम बुझेको साकार पोल्ट्रि फर्म गाउँपालिकामा दर्ता नै नरहेको पाईएको छ । गाउँपालिकाका सूचना अधिकारी अनिता छत्कुलीले नेप्लिज टाइम्सलाई दिएको जानकारी अनुसार साकार पोल्ट्रि फर्म गाउँपालिकामा दर्ता भएको रेकर्ड नै भेटिँदैन ।
गाउँपालिकामा दर्ता नै नभइकन कसरी कृषि अनुदान रकममा सम्भौता गरेर अनुदान रकम भुक्तानी दिइयो त ? भन्ने प्रश्नमा सूचना अधिकारी छत्कुली भन्छिन्, ‘खै सर त्यो त अरु कागजातहरु पनि हेर्नुपर्छ । कम्प्युटरको रेकर्डमा हेर्दा साकार पोल्ट्री फर्म पालिकामा दर्ता भएको रेकर्ड भेटिएन ।’
अनुदान रकम बुझ्ने नेपाली कांग्रेसका पालिका सभापति काप्रीको त्रिपुरा सुन्दरी पशुपक्षी तथा फलफूल फर्म भने गाउँपालिकामा दर्ता छ । अनुदान रकम बुझ्ने मिश्री पशुपक्षी तथा फलफूल फर्म मिश्री तामाङको नाममा ज्वालामूखी गाउँपालिका–५ खरीमा दर्ता गरेर संचालन गरिएको पालिकाको रेकर्डमा भेटिएको छ । यो फार्मले पनि १० लाख रुपैयाँ कृषि अनुदान रकममा हस्ताक्षर गरेर ५ लाख रुपैयाँ भुक्तानी लिएको थियो ।
नियमविपरित अनुदान वितरण
स्थानीय सरकार संचालन ऐन २०७४ मा वितरणमुखी खर्च नियन्त्रण गर्दै संघ तथा प्रदेशबाट प्राप्त रकम स्थानीय पूर्वाधार विकास तथा दिर्घकालिन पुँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ । यो व्यस्था अनुसार नाफा कमाउने उदेश्यले स्थापित संस्थालाई अनुदान रकम उपलब्ध गराउन मिल्दैन ।
तर ज्वालामूखी गाउँपालिकाले नेपाली कांग्रेसको पालिका सभापति रेशमलाल काप्रीसहित ३ वटा नाफामूलक संस्थालाई पशु तथा फलफूल लगायतको नाममा अनुदान रकम दिएको देखिन्छ । यो रकमलाई महालेखा परीक्षकको कार्यलयलेसमेत अनियमित भएको रकमको रुपमा राखेको छ ।
संघ तथा प्रदेशबाट प्राप्त रकम स्थानीय पूर्वाधार विकास तथा दिर्घकालिन पुँजी निर्माण हुने काममा खर्च गर्नुपर्ने थियो । तर नियम विपरित त्यो पनि ज्वालामूखी गाउँपालिकाको कांग्रेस पालिका सभापति काप्रीको खल्तीमा सबैभन्दा बढि रकम पर्नेगरी राज्यको ढुकुटी दोहन गर्ने काम भईरहेको छ ।
यसबारे ज्वालामूखी गाउँपालिकासँग सूचनाको हक नै प्रयोग गरेर थप विवरण माग गर्दा पालिकाले सूचनासमेत उपलब्ध नगराएर आफ्नो अनियमितता लुकाउने प्रयास गरेको छ । ज्वालामूखीलाई राष्ट्रिय सूचना आयोगलेसमते ७ दिनभित्र लिखित जवाफ पेस पेस गर्न आदेश गरेको छ । राष्ट्रिय सूचना आयोगले कि त ७ दिनभित्र लिखित जवाफ पेस गर्नुपर्ने कि त सम्बन्धित सूचना मागकर्तालाई कानुन सम्वत सूचना उपलब्ध गराउनुपर्ने भनेको छ ।
सम्बन्धित थप समाचारहरु
ज्वालामूखीले लुकाएको अर्को प्रमाण: कम्प्युटरको ‘सामान्य भाइरस’ हटाउँदा पनि लाखौँ अनियमित ?
ज्वालामूखी गाउँपालिकामा १८ लाख रुपैयाँ अनियमितता, कसको खल्तीमा कति ? (विवरणसहित)
ज्वालामुखीमा सरकारी मोटरसाईकलको दुरुपयोग, घाईते नाबालक अस्पतालमा, चालकलाई उन्मुक्ति