Latest News

ज्वालामूखीले लुकाएको अर्को प्रमाण: कम्प्युटरको ‘सामान्य भाइरस’ हटाउँदा पनि लाखौँ अनियमित ?

Nepalese Times April 30, 2025 (4 Hour ago)    599 Views

टेकमान शाक्य ।

काठमाडौं । धादिङको ज्वालामूखी गाउँपालिकाले कम्प्युटरको सामान्य भाइरस हटाउनका लागि समेत लाखौ रुपैयाँ त्यो पनि सोझै भुक्तानी दिएको भेटिएको छ ।

प्राविधिक पक्ष हेर्नकै लागि गाउँपालिकामा एकजना आइटी ईन्जिनियरसमेत कार्यरत छन् । एकजना आइटी ईन्जिनियरको दरबन्दी रहेकोमा विगतदेखि नै निरन्तर कार्यरत रहेकै अवस्था छ ।

तर गाउँपालिकाले मौजुदा जनशक्तिबाट गर्न सकिने सामान्य कामका लागिसमेत लाखौँ रुपैयाँ सोझै भुक्तानी दिएर अनियमित कार्य गरेको तथ्य फेला परेको हो ।

महालेखाको ६१ औँ प्रतिवेदनमा उल्लेख भएअनुसार भाईरस क्लिनिङ सफ्टवेर इन्स्टलेसन, पावर म्यानेजमेन्ट र सामान्य नेटवर्क ट्रुबल सुटिङजस्ता सामान्य काममा मौजुदा जनशक्तिबाट गर्न सकिने अवस्था थियो । तर गाउँपालिकाले यस्तो कामका लागिसमेत २ वटा कम्पनीलाई ९ लाख ७६ हजार ३ सय २० रुपैयाँ रकम भुक्तानी दिएको छ । यो रकमलाई महालेखाले अनियमित भनेको छ ।

यी हुन् नियम विपरित रकम बुझ्ने कम्पनीहरु

गाउँपालिकामार्फत कानुन विपरित रकम बुझ्नेहरुमा सुसमर्पण कम्प्युटर एण्ड मोबाईल सप र प्रतिक कम्प्युटर प्रशिक्षण केन्द्र रहेका छन् । उनीहरुमध्ये सु समर्पण कम्प्युटर एण्ड मोबाईल सपले ४ लाख ४४ हजार १ सय ६० रुपैयाँ बुझेका छन् ।

यो रकम बुझेबापत सु समर्पण कम्प्युटर एण्ड मोबाईल सपले कम्प्युटर, प्रिन्टर, स्क्यानर, फोटोकपी मेसिनलगायतमा भाईरस क्लिनिङ सफ्टवेर ईन्स्टलेसनको जिम्मेवारी पाएको थियो ।

जबकी यो सफ्टवेर ईन्स्टलेसनको काम पालिकामै दरबन्दीमा रहेका आईटी ईन्जिनियरले गर्न सक्ने थिए । यस्तै सुसमर्पण कम्प्युटरले यो रकम बुझेबापत सामान्य नेटवर्क ट्रबल सुटिङलगायत मर्मतका कामहरुको जिम्मेवारी पाएको थियो ।

यस्तै प्रतिक कम्प्युटर प्रशिक्षण केन्द्रलेसमेत ४ लाख ४४ हजार १ सय ६० रुपैयाँ बुझेको महालेखाको प्रतिवेदनले देखाउँछ । यो रकम बुझेबापत सोलार, सीसीक्यामेरा, विद्युतीय हाजिरी, डिजिटल नोटिस बोर्डलगायत उपकरणहरु नियमित मर्मत गर्नुपर्ने जिम्मेवारी पाएको थियो । जबकी यो कुनै जटिल काम होइन, पालिकामा दरबन्दीमै रहेका आईटी ईन्जिनियरले गर्न सक्ने महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

यतिसम्म कि पालिकाबाट रकम बुझेका यी २ कम्पीहरुले सम्झौताको सर्तबमोजिम कार्यलयको सामान मर्मत फारमसमेत भरेका छैनन् भने मर्मतको विवरणसमेत पालिकाको अभिलेखमा भेटिँदैन । यसको अर्थ प्रतिक कम्प्युटर र सुसमर्पणले काम नै नगरी लाखौँ रुपैयाँ खल्तीमा हालेको हो कि भन्ने महालेखाको आशंका छ ।

पालिकाले सकेन विवरण उपलब्ध गराउन
यस विषयमा नेप्लिज टाइम्सका कार्यकारी सम्पादक टेकमान शाक्यले पालिकासँग सूचनाको हक प्रयोग गरेर विवरण माग गरेको थियो ।
तर पालिकाले कुनै पनि विवरण उपलब्ध गराउन सकेन । पालिकाले न त उनीहरुसँग हुनुपर्ने सम्झौताको कागजात देखाउन सक्यो, न त उनीहरुले गरेको कामको विवरण नै उपलब्ध गरायो ।

पालिकाले विवरण उपलब्ध गराउन नसक्नुले त झनै प्रतिक कम्प्युटर र सुसमर्पणको नाममा काम नै नगरी रकम भुक्तानी भएको आशंका गरिएको छ । उनीहरुको नाममा सोझै रकम भुक्तानी गरेर जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा भ्रष्टाचार प्रयास भएको अनुमान लगाउन कठिन छैन । आर्थिक वर्ष २०७९-८० मा अनियमित भएको यो रकम अहिले पनि बेरुजूकै अवस्थामा छ । बेरुजू देखिएको भन्दै ज्वालामूखी गाउँपालिकाले सूचना लुकाउने प्रयाससमेत गरेको छ ।

कानुनले के भन्छ ?
सार्वजनिक खरिद ऐन २०६३ ले प्रतिष्पर्धी विधिबाट मर्मत कार्य प्याकेजमा खरिद गर्न सक्ने व्यवस्था गरेको छ । यस्तै खरिद नियमावलीले मर्मत गर्नुपर्ने मालसामानको वारेण्टी तथा मर्मत सम्भार सम्बन्धी व्यवस्था गरेको छ । कुनै मालसामान मर्मत सम्भार गर्नुपर्ने भए लागत अनुमान तयार गराएर स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

तर पालिकाले यसो नगरीकन बजेटलाई टुक्रा बनाएर दुईवटा फार्महरुलाई आर्थिक वर्ष २०७९÷८० का लागि सोझै वार्षिक मर्मत सम्झौता गरेको देखिन्छ । यो कुनै प्रतिष्पर्धी विधिबाट उनीहरुलाई छनोट गरिएको थिएन । जनप्रतिनिधि र पालिकामा रहेका कर्मचारीहरुकै मिलेमतोमा झण्डै १० लाख रुपैयाँ २ वटा कम्पनीलाई भुक्तानी गरिएको महालेखाको प्रतिवेदनले देखाउँछ ।

हाल ज्वालामुखी गाउँपाल‍िकाको अध्यक्षमा नेपाली कांग्रेसका यमनाथ दनै रहेका छन् भने उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट धर्म अर्याल रहेका छन् । प्रमुख प्रशासकीय अधिकृत सुरेश थापा रहेका छन् ।

यो पनि पढ्नुहोस् 

ज्वालामूखी गाउँपालिकामा १८ लाख रुपैयाँ अनियमितता, कसको खल्तीमा कति ? (विवरणसहित)

ज्वालामुखीमा सरकारी मोटरसाईकलको दुरुपयोग, घाईते नाबालक अस्पतालमा, चालकलाई उन्मुक्ति

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

प्रतिक्रिया दिनुहोस