Latest News

बंगलादेशको घटनाले नेपालमा पनि तरंग, उच्च सुरक्षा निगरानी सुरु

Nepalese Times August 6, 2024 (4 Month ago)    313 Views

काठमाण्डौ । बङ्गलादेशमा विकसित घटनाक्रमका कारण  नेपालमा पनि उच्च सुरक्षा निगरानी बढाइएको छ । नेपालले सुरक्षा व्यवस्थामा थप कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको हो । गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो ।

केन्द्रीय सुरक्षा समिति बैठकको निर्देशनअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढाएर सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कनसहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएको जनाएका छन् ।

हिले तैनाथ सुरक्षाकर्मीसँगै थप बल परिचालनगरी सुरक्षा व्यवस्था चुस्त बनाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।  विदेशी नागरिक जथाभावी देशभित्र प्रवेश हुन नपाउन् भनेर सुरक्षा निगरानी र सतर्कता बढाइएको हो ।

विमानस्थल तथा देश भित्रिने र बाहिरिने नाकाका साथै विशेष गरी तराई र भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई चुस्त रहन र सम्भावित जोखिम आँकलन गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशनसमेत दिइएको छ ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले अन्य देशबाट मानिसको घुसपैठ हुन सक्नेतर्फ सतर्क रहँदै सीमा क्षेत्रमा जनशक्ति थपगरी सुरक्षा तैनाथी बढाइएको र उच्च सतर्कता अपनाइएको छ । बङ्गलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि हिजो प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस