काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा पूर्वराज्यमन्त्री रामचन्द्र रायको ह त्यामा प्रहरीले ३ जनालाई शंकाको घेरामा राखेको छ ।आइतबार राति जग्गासम्बन्धी विवादको विषय लिएर रायको घरमा आएका तीन व्यक्ति नै हत्यामा संलग्न हुन सक्ने प्रहरीको निष्कर्ष छ ।
आइतबार राति रायको घरमा पुगेका व्यक्ति उनको हत्यापछि फरार रहेकाले उनीहरुको संलग्नता हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक अधिकारीले बताए । प्रहरीले रायको हत्याको खबर आइतबार राति साढे १२ बजे पाएको थियो । खबर पाएलगत्तै प्रहरी चौकी मोहनपुर र इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली घटनास्थल पुगेको थियो ।
त्यसपछि सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंह र मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल पनि घटनास्थल पुगेका थिए । हत्यामा धारिलो हतियार प्रयोग गरेको खुलेपछि राति नै तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरिएको थियो । कुकुरले केही संकेत गरेको र घटनास्थल नजिकै हतियार समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठ बताउँछन् ।
चन्द्रपुरस्थित इन्द्र ठाकुरको घरमा आमाको मृत्यु संस्कारमा सहभागी भएर राय राति ८ बजे आफ्नो घर आइपुगेका थिए । त्यसको करिब १ घण्टापछि राति साढे ९ बजेतिर तीन जना उनको घरमा आएको प्रहरीले बताएको छ ।
उनको घरमा पूर्वराज्यमन्त्री रायसँगै उनका सहयोगी २१ वर्षका रामउदेन राय बस्थे । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा राति घरमा तीन जना व्यक्ति आएको बताएको मधेश प्रदेशका डीआईजी पोखरेलले बताए । राति घरमा आएकाहरुले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै रायलाई सोधेका थिए । त्यसै कुरालाई आधार मानेर प्रहरीले ती व्यक्ति पहिचान गर्नतिर लागेको छ ।
घरमा राति तीन जना आएपछि पूर्वराज्यमन्त्री रायले आफूलाई छतमा सुत्न पठाएको रामउदेनले प्रहरीलाई बताएका छन् । त्यसअघि तीन जनालाई आफूले पानी दिएको राम उदेनले प्रहरी समक्ष वयानमा भनेका छन् ।
राति करिब सवा १२ बजे पिसाब गर्न उठ्दाखेरी ढोका खुल्लै रहेको देखेपछि टर्च बालेर हेर्दा रक्ताम्य अवस्थामा रायलाई देखेको उनले बताएका छन् । त्यसपछि आफ्ना बाबुलाई घटनाबारे फोन गरेर जानकारी गराएको राम उदेनले बताएको प्रहरीको भनाई छ ।
घटनाबारे जानकारी पाएपछि राति करिब १ बजेतिर नै प्रहरी घटनास्थल पुगेको थियो । एक तले पक्की घरको कोठाभित्रको ओच्छ्यानमा उनी मृत अवस्थामा भेटिएका थिए । रायको घरबाट उत्तरपश्चिम तर्फको करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा फर्सा भनिने बञ्चरो आकारको हतियार भेटिएको सर्लाहीका प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।
राय सर्लाहीको सदरमुकाम मलंगवा बस्दै आएका थिए । रायको चन्द्रपुर गाउँपालिकाको रतनपुरमा खेती छ । सँगै एक तले पक्की घर पनि रायले बनाएका छन् ।
उक्त घरमा उनी एक हप्ताअघि मात्रै आएका थिए । एक हप्ता अघि उनी रोपाईं गर्नका लागि आएका थिए । सोही बेला आइतबार राति उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।