Latest News

यस्ता छन् आज सार्वजनिक मन्त्रिपरिषद् बैठकका १३ महत्वपूर्ण निर्णय

Nepalese Times August 5, 2022 (1 Year ago)    366 Views

काठमाडौं ।

सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेसहितका विभिन्न १३ वटा निर्णय गरेको छ।

त्यस्तै, अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।

त्यस्तै बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन् । त्यहाँ रहेका डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।

महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।

त्यस्तै, सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। उनलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् । नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस