Latest News

चुनाव घोषणापछि गठबन्धनको पहिलो बैठक बस्दै, यस्ता छन् एजेण्डा

Nepalese Times August 5, 2022 (1 Year ago)    431 Views

काठमाडौं ।

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेका लागि बैठक बोलाइएको गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिइन्।

निर्वाचनको मिति घोषणा भइ सकेकाले गठबन्धनका नेताहरु सीट बाँडफाँडको मोडालिटीबारे छलफलमा जुटेका छन् । चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको थियो ।

०७४ मा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउनेबारे गठबन्धनमा छलफल भइरहेको छ ।

सोही मोडालिटीमा टेकेर सिट बाँडफाँटका लागि आज कार्यदल बनाउने काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । पौडेलका अनुसार कार्यदलले तयार पार्ने मापदण्डका आधारमा शीर्ष नेता बसेर सिट बाँडफाँट गरिने छ ।

गठबन्धन दलले चुनावी मुद्दामा समेत साझा धारणा बनाएर जाने पौडेलको भनाइ छ । त्यसको गृहकार्य समेत कार्यदललाई दिने गठबन्धनमा सहमति भइसकेका उनले बताए । सीट बाँडफाँड र गठबन्धनको साझा धारणासँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरिएको छ ।

यसअघि बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रको बाँडफाँटबारे समिति बनाएर अघि बढ्ने सहमति गरेको थियो।

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० क्षेत्रको बाँडफाँटबारे आजको बैठकमा छलफल हुने गठबन्धनका एक नेताले जानकारी दिए।

यसअघि स्थानीय तहको निर्वाचनको लागि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो। त्यो संयन्त्रले स्थानीय तहको तालमेल मोडालिटी बनाएको थियो।

तर, ३ सय स्थानीय तहमा मात्र तालमेल भएको, केही तालमेलमा गठबन्धनभित्र असहयोग भएपछि अहिले भने सुरु देखि नै गठबन्धनले बनाएको समितिमार्फत निर्वाचन क्षेत्र बाँड्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस