Latest News

चितवनमा देउवाको बसाईंपछि रेनुतिर खुल्न थाले भरतपुरका कांग्रेसीहरु, जगन्नाथ एक्लिँदै

Nepalese Times May 7, 2022 (1 Year ago)    1532 Views

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर पुगेलगत्तै त्यहाँका कांग्रेसका नेता तथा कार्यकर्ताहरु मेयर उम्मेदवार रेनु दाहालतिर खुल्न थालेका छन् ।

अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु दाहाललाई जिताउन भन्दै खुल्न थालेका दिनदिनै संख्या बढिरहेको प्रचारमा सहभागी एकजना नेपाली कांग्रेसका नेताले बताए ।

पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको भरतपुरमा बास बसाइ र बिहीबार पाँचदलले गरेको चुनावी सभाको प्रभावले कांग्रेसका नेताहरु रेनु दाहालतिर खुल्न थालेका अर्का कांग्रेस नेताले बताए ।

गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी दाहाललाई यसपटक प्रमुखमा उठाएको भन्दै कांग्रेसको एउटा समूहले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्ेमदवारी दिएका छन् ।

जगन्नाथ पौडेलले दिएको उम्मेदवारी फिर्ता गराउन कांग्रेसले हर प्रयास गरे पनि सफल हुन सकेन । पौडेलले उम्मेदवारी कायमै राखेका छन् भने उनले चुनाव चिन्ह भुईं कटहर पाएका छन् ।

जगन्नाथको उम्मेदवारीले तनावमा देखिएका देउवाले आफ्ना विश्वासपात्र बालकृष्ण खाँण, उमेश श्रेष्ठ लगायतका नेतालाई चितवन पठाए पनि उनको उम्मेदवारी भने कायमै रहेको हो ।

पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि बिहीबार पाँच दलले भरतपुरमा देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ लगायतले एउटै सभामा सम्बोधन गरेका थिए ।

सबै नेताहरुले सम्बोधनका क्रममा भरतपुर प्रमुख र उपप्रमुख लगायतको सिंगो टिम जिताएर गठबन्धनको भविष्य जोगाउन आग्रह गरेका थिए। बिहीबारको त्यही कार्यक्रमलगत्तै शुक्रबारदेखि भएको घरदैलो कार्यक्रममा कांग्रेसका नखुलेका नेता र कार्यकर्ता पनि खुल्न थालेका हुन् ।

एक कांग्रेसका नेताले भने, ‘हिजोसम्म रहेको अन्योल हट्यो, गठबन्धन जोगाउन रामचन्द्र दाइ र हाम्रो सभापति शेरबहादुर देउवाले हामीलाई निर्देशन दिनुभयो, हामी अब पुरै खटिनुपर्छ भन्ने साथीहरुलाई परिसक्यो ।’

यस्तै नेपाली कांग्रेस २७ नम्बर वडा समिति तरुण दलका अध्यक्ष मुक्ति श्रेष्ठले भने, ‘आजदेखि खुल्न थाल्नुभयो, भोलिदेखि यो संख्या निकै बढ्छ।’ गठबन्धनले एकैदिन गरेका तीनवटा वडामा कांग्रेसको संख्या ह्वात्तै बढेको देखिएको माओवादी केन्द्र भरतपुर महानगर कमिटीका अध्यक्ष रामचन्द्र अधिकारीले बताए ।

पार्टी नीति बाहिर गएर उम्मेदवारी दिएको भन्दै पौडेललाई कांग्रेसले पार्टीबाट निस्कासन गरिसकेको छ।देउवा भरतपुरमा बास नबसकेको भए पौडेलले माहोल बढाउँदै लगेको कांग्रेसकै स्थानीय नेताहरु स्वीकार गर्छन्।

तर, दुई दिनमा चितवनमा व्यापक फेरबदल भइसकेको उनीहरुले विश्लेषण गरेका छन्। शनिबार वडा नम्बर २७, २८, १५, २० र १३ मा घरदैलो कार्यक्रम राखिएको छ। सबै कार्यक्रममा कांग्रेसका नेताहरु अनिवार्य उपस्थित हुने ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस