Latest News

सकियो सत्ता गठबन्धन बैठक, बागी उम्मेदवारलाई फोन गर्दै दियो यस्तो निर्देशन

Nepalese Times April 28, 2022 (1 Year ago)    768 Views

सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिले बागी उम्मेदवार र केन्द्रीय नीति विपरीत भएको तालमेलबारे सोधिखोजी गरेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार दिउँसो बसेको समितिको बैठकले गठबन्धन भित्रबाट परेको बागी उम्मेदवारी फिर्ताबारे छलफल गरेको हो । यस्तै स्थानीय तह निर्वाचनमा गठबन्धन बाहेका दलसँग भएको तालमेल खारेजीबारे पनि समिति बैठकले चासो राखेको थियो ।

समितिका सदस्य सचिव केशव जोशीका अनुसार बैठकले केन्द्रबाट तालमेलका निर्णय भएका ६ महानगर र ११ उपमहानगरपालिकामा परेका बागी उम्मेदवारी फिर्ताको प्रयास गरेको हो ।

यस्तै गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रबाट भएको तालमेलविरुद्ध परेको उम्मेदवारीबारे पनि समितिले सोधिखोजी गरेको उनले बताए । आपसी समझदारी निर्माण गरी बागी भोलिसम्म बागी उम्मेदवारी फिर्ता गराउन समिति लागि परेको जोशीको भनाइ छ ।

काँग्रेस महामन्त्री तथा समितिका सदस्य गगन थापाका अनुसार बैठककै क्रममा गठबन्धन बाहेकका तालमेल तोड्न र बागी उम्मेदवारी फर्ता लिन बालुवाटारबाटै फोनमार्फत आग्रह गरिएको थियो । समिति संयोजक रामचन्द्र पौडेलले गठबन्धन बाहिर भएको तालमेल खारेज भए नभएको सोधिखोजी गरेका थिए ।

काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबाट समितिमा प्रतिनिधित्व गर्ने नेताहरुले आ आफ्नो पार्टीबाट बागी उम्मेदवारी र चुनावी तालमेलबारे रिपोर्ट राखेका थिए ।

त्यसपछि नेताहरुले बालुवाटारबाटै फोन गरेर बागीलाई उम्मेदवारी फिर्ता लिन र गठबन्धन बाहिरको तालमेल खारेज गर्न निर्देशन दिएको महामन्त्री थापाले बताए ।

‘दलले आ आफ्नो दलबाट आएको रिपोर्ट ल्याएर अर्को दललाई भन्ने काम भइरहेको छ,’ उनले भने, ‘यो यो ठाउँमा तपाईंका उम्मेदवारले बागी हाल्यो । यहाँ यो पार्टीसँग तालमेल गर्यो भनेर एक अर्कालाई भन्ने काम भयो । त्यहाँबाट रामचन्द्र दाइले फोन गरिराख्नु भएको छ ।’ थापाका अनुसार केन्द्रको निर्देशनपछि केही ठाउँमा समझदारी भएपनि केही ठाउँमा हुन सकेको छैन ।

बुधबार सत्ता गठबन्धनका शीर्ष नेताले सात बुँदे निर्णयात्मक निर्देशन जारी गरेका थिए । त्यसपछि जिल्ला जिल्लामा समझदारी निमार्णको प्रयास भइरहेको जानकारी केन्द्रलाई आएको सदस्य सचिव जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस