Latest News

वडा अध्यक्षसहित सबै उम्मेदवार निर्विरोध निर्वाचित, चुनाव गर्नै परेन

Nepalese Times April 26, 2022 (1 Year ago)    757 Views

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका ६ को वडाध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परेको छ । बैशाख ३० गतेका लागि तय भएको चुनावको मनोनय दर्ताका क्रममा वडा अध्यक्षसहितका पदमा एक उम्मेदवारी परेको हो ।

वडाध्यक्षमा पाल्जोर तामाङको एकल उम्मेदवारी परेको र उनी निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।

यस्तै वडा सदस्यमा हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाँङ गाउँबाट महिला सदस्य पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामाको मात्रै एकल उम्मेदवारी परेको छ ।

गत ३० मंसिरमा लिमेली जनताले पाल्जोर तामाङलाई अध्यक्षमा दोहोर्‍याउने निर्णय गरेका थिए । लिमेली जनताले वडा सदस्यहरु पनि सोही दिन टुंगो लगाएका सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपानेले बताएका छन् ।

यस्तै पाल्पामा पनि नेकपा एमालेका दुई उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिइन् ।

मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुवै महिला निर्विरोध निर्वाचित भएका हुन् । पूर्वखोला गाउँपालिका २ जाल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नम्बर ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित भएका हुन् । एकल उम्मेदवारी परेकाले निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुवैजनालाई उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेसनका मोहन सिं सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै चितवनको इच्छाकामना गाउँपालिकामा एमालेका एक उम्मेदवारी निर्विरोध हुने भएका छन् । इच्छाकामना गाउँपालिका–१ मा दलित महिला वडा सदस्य पदमा एक जनाको मात्रै उम्मेदवारी गरेको हो ।

स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा इच्छाकामना–१ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएकी हुन् । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ ।

इच्छाकामना गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल उम्मेदवार बनेका छन् । त्यस्तै गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा काँग्रेसकी गीता गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका प्रताप गुरुङ उम्मेदवार छन् । नेकपा एमालेको उम्मेदवार निर्विरोध निर्वाचित हुने भएपछि निर्वाचनमा हौसला मिलेको एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस