Latest News

काठमाडौंमै एउटै पदमा एमालेका दुई जनाको उम्मेदवारी, को हुन् आधिकारिक उम्मेदवार ?

Nepalese Times April 26, 2022 (1 Year ago)    814 Views

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको एक वडामा नेकपा एमालेबाट दुई जनाले वडा अध्यक्षमा सिफारिस भएसँगै विवाद भएको छ ।

एउटै पार्टीबाट वडा नम्बर ९ मा दुई जना व्यक्ति सिफारिस भएपछि निर्वाचन अधिकृतको कार्यलयमा लफडा भएको हो । एमालेबाट सोमबार निर्वाचन अधिकृतको कार्यालयमा निर्वतमान वडाध्यक्ष गंगाराम महर्जन र संजयमान महर्जन सिफारिस पत्र लिएर पुगेका थिए।

कार्यालयले एमालेकै सिफारिसअनुसार गंगाराम महर्जनको उम्मेदवारी दर्ता गर्‍यो। तर फेरि एमाले नगर कमिटीकै सिफारिस लिएर संजयमान महर्जन उम्मेदवारी लिएर अधिकृतको कार्यालयमा पुगेका थिए।

दुबै जनाले एमाले नगर कमिटीको आधिकारिक पत्र लिएर आउँदा विवाद भएको कीर्तिपुर निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिइन्।

नेकपा एमालेबाट दुई जना पार्टीले सिफारिस गरेको पत्र, सबै कागजातसहित उम्मेदवारी दिन आएका तर आफूहरुले सबैभन्दा पहिला जो आएका हुन् त्यसैलाई कम्प्युटरमा इन्ट्री गराएको उनले बताइन् ।

घिमिरेले भनिन्, ‘सुरूमा आउने गंगाराम महर्जनको इन्ट्री गर्‍यौं। पछि आउनेको इन्ट्री गर्दा कम्प्युटरले पनि लिँदैन। तर उहाँहरू दुबै जनाको सिफारिस छ।’

संजयमानको उम्मेदवारी लिएको तर दर्ता गरिनसकेको उनले बताइन्। नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले निर्वाचन अधिकृतको कार्यालयलाई पठाएको पत्रमा पनि वडा नम्बर ९ को वडाध्यक्षमा संजयमान महर्जनलाई नै सिफारिस गरिएको उल्लेख छ।

निर्वाचन अधिकृत कमला घिमिरेका अनुसार अहिले दुबै जनाले उजुरी दिने तयारी गरिरहेका छन्। त्यसबारे निर्वाचन आयोगले अध्ययन गरेर थप निर्णय लिने उनले बताइन्।

यता गंगाराम महर्जनले आफूलाई नगर कमिटीले सिफारिस गरेको हुँदा उम्मेदवारी दिएको बताए। एमालेले मेयरमा केशरत्न बज्राचार्य र उपमेयरमा विन्दु महर्जनलाई सिफारिस गरेको छ। मेयरका उम्मेदवार बज्राचार्यले वडा नम्बर ९ का वडाध्यक्षका आधिकारिक उम्मेदवार संजयमान महर्जन भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस