Latest News

काठमाडौं मेयरका उम्मेदवार केशव स्थापितविरुद्ध उजुरी दिने तयारी !

Nepalese Times April 26, 2022 (1 Year ago)    1323 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा पूर्व मेयर केशव स्थापितले एमालेबाट उम्मेदवारी दिएका छन् । उपमेयरमा भने यसअघि स्वतन्त्र रुपमा मेयरमा उम्मेदवार दिने घोषणा गरेकी सुनिता डंगोलले टिकट पाएकी छिन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएसँगै उनको आलोचना र विरोध पनि हुन थालेको छ । यसअघि यौन उत्पिडनको आरोप खेपेका मान्छेलाई मेयरको उम्मेदवार बनाएको भनेर पहिलेको घटनामा जानकार महिलाहरुले सामाजिक संजालदेखि विभिन्न माध्यमबाट बोल्न थालेका छन् ।

काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मीला प्रजापतिले पनि सामाजिक संजालमार्फत उनले मेयरको टिकट पाउने भएपछि विरोध गरेकी छिन् । उनले यसअघि स्थापितबाट हिंसा सहनुरेको भनेर बाहिर घटना बाहिर ल्याएकी थिइन् ।

काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मीला प्रजापति र पूर्वपत्रकार उज्जला महर्जनले काठमाडौं महानगरका पूर्वमेयर तथा प्रदेश नम्बर ३ का भौतिक योजना मन्त्रीसमेत भएका केशव स्थापितमाथि यौन उत्पीडनको आरोप लगाएका हुन्।

उनै काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका स्थापितविरुद्ध केही महिलाहरुको समूहले उजुरी दिने तयारी गरेको बुझिएको छ । आउँदो ३० गते हुने पालिका चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध आज उजुरी दिन पाइने छ ।

मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उजुरी दर्ता गराउन सकिनेछ ।

प्रजापतिले स्थापितको प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिनुपरेको अनुभव सार्वजनिक गरेकी छिन् । उनले पन्ध्र वर्षअघिको उक्त घटना सम्झँदै भनिन्, ‘उनले स्थापित घुम्न जाने र ‘क्वालिटी टाइम’ बिताउने प्रस्ताव राखे। मैले अस्वीकार गरेकै कारण जागिरबाट निकालिएँ।’

त्यतिबेला रश्मीला करारमा महानगरको शाखा अधिकृत नियुक्त भएकी थिइन्। आफूलाई अर्को कुनै विभागको प्रमुख बनाइदिने लोभ देखाउँदै स्थापितले घुम्न जाने प्रस्ताव राख्ने गरेको प्रजापतिले बताइन्।

स्थापितविरूद्ध यौन उत्पीडनको आरोप लगाउने प्रजापति मात्र छैनन्, पूर्वपत्रकार उज्ज्वला महर्जनले पनि आफूलाई असजिलो हुने गरी साथी बन्ने प्रस्ताव राखेको खुलासा गरेकी छिन् ।

उज्ज्वलाका अनुसार उनले अंग्रेजी दैनिक ‘रिपब्लिका’ मा काम गर्दा स्थापितसँग अन्तर्वार्ता लिएकी थिइन्। अन्तर्वार्ता लिएर फर्केको अर्को साँझ स्थापितले आफूलाई फोन गरेर साथी बन्ने प्रस्ताव राखेका थिए । आफूलाई त्यतिबेलै धेरै असजिलो लागेको भन्दै उनले धेरैले उनलाई राम्रो मान्छे भन्ने गरेकोले आफूले प्रतिवाद गर्न भने नसकेको बताईन् ।

उनले भनिन्, ‘मलाई भने पहिलोपटक, त्यो पनि प्रोफेसनल कामका लागि भेटेको मान्छेले साथी बन्नुपर्छ, हामी भेटिराख्नुपर्छ है भन्दा अप्ठ्यारो लागेको थियो । जब साँझ पर्थ्यो, स्थापितले मलाई फोन गरिरहन थाले। एक–दुईपटक त उठाएँ, तर पछि बेवास्ता गरेँ। उनको फोन उठाउन छाडेँ।’

स्थापितले भने उज्ज्वलालाई आफूले चिन्दै नचिनेको र अन्तर्वार्ता पनि नदिएको बताएका छन्। उनले यस्तो दाबी गरे पनि उज्ज्वलाले स्थापितलाई भेटेर कुराकानी गरी समाचार लेखेको प्रमाणसमेत राखेकी छिन् ।

यसअघि स्थापित यौन हिंसाको आरोपमा मुछिएपछि प्रदेश ३ को सरकारले छानबिन थालेको थियो । त्यतिबेलाका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा निर्माण मन्त्री स्थापितमाथि छानविनका लागि भन्दै मन्त्रि पदबाटै हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस