Latest News

काभ्रेमा एमाले र माओवादीबीच तालमेल, गठबन्धनमा खैलाबैला

Nepalese Times April 24, 2022 (1 Year ago)    859 Views

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन प्रक्रिया सुरु भइसक्दा काभ्रेमा नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेलको प्रयास गरेको छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालेमल गर्ने सहमति भएपनि काभ्रेमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति जुट्न नसकेपछि यस्तो प्रयास भएको हो ।

कांग्रेसले आफूहरुलाई हेपेकाले सहमति हुन नसकेको र एमालेसँग सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रकी केन्द्रीय सदस्य रुकु चौलागाईको भनाइ छ ।

काभ्रेमा सत्ता गठबन्धनबीच सहमति हुने सम्भावना कम रहेको भन्दै उनले कांग्रेसले माआवादीलाई हेपेको र सम्मानजनक सहकार्य गर्न कांग्रेस तयार नभएको आरोपसमेत लगाए ।

कांग्रेसले १३ पालिकामध्ये बनेपा, धुलिखेल र पनौती तीन वटै नगरपालिकासहित ९ वटा आफूले लिने र माओवादीलाई तीनवटा मात्रै दिने प्रस्ताव गरेको थियो ।

माओवादीले भने पाँच वटामा दाबी गरेको थियो । मिलेर जाने सन्दर्भमा आफूहरु पाँच वटामा सहमत हुन सक्ने तर कांग्रेसले हेपाहा प्रवृत्ति देखाएको चौलागाईंले बताइन् ।

कांग्रेससँग समहमति जुट्न नसकेपछि माओवादी केन्द्रका नेताहरुले शनिबार मध्यान्हदेखि एमालेसँग सम्वाद अघि बढाएको छ । कांग्रेससँग तालमेल नगर्ने टुंगो गरेको अवस्थामा मिलेर जान एमाले नेताहरु सकारात्मक देखिएका छन् ।

एमाले जिल्ला अध्यक्ष अशोक ब्यान्जुले माओवादीसँग छलफल भएको तर कुनै टुंगोमा नपुगेको बताए । चौलागाईंले पनि एमालेसँग सम्वाद भएको स्वीकार गरेकी छिन् । २०७४ को निर्वाचनमा नेकपा एमालेले ७, नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ पालिका जितेको थियो ।

यस्तै नेकपा एमालेले भरतपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्ने अन्तिम तयारी गरिरहेको छ। भरतपुर महानगरपालिकाको उपमेयर र केही वडा राप्रपालाई दिनेगरी तालमेल गर्न लागिएको नेकपा एमालेका एक नेताले सेतोपाटीलाई बताए।

भरतपुर महानगरपालिकामा गत स्थानीय निर्वाचनमा राप्रपाका उम्मेदवारले मेयरमा ६ हजार ८ सय ४२ मत ल्याएका थिए। एमालेले सातै स्थानीय तहमा मेयरको उम्मेदवार टुंगो लगाएको छ। ५ वटा तहमा उपमेयरको उम्मेदवार टुंगो लगाएको छ।

राप्रपासँग तालमेल भएको अवस्थामा भरतपुर र माडीको उपमेयर पद दिने तयारी एमालेको छ। यी दुई तहमा वडाध्यक्षमा कुरा मिलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस