Latest News

ललितपुरमा व्यञ्जनकारले गरे स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता, को हुन् उनी ?

Nepalese Times April 24, 2022 (2 Year ago)    543 Views

काठमाडौं । ललितपुर महानगरपालिकामा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले वडाध्यक्षमा उम्मेद्‍वारी दर्ता गराएका छन् ।

ललितपुर महानगरपालिका वडा नं. १० को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेद्‍वारी दर्ता गराएका उनले यसअघि पनि १० पटकसम्म वडाध्यक्ष जितेका थिए ।

उनले आफूले वडाका बासिन्दाको हितमा काम गर्दै आएको र फेरि ‍पनि वडाध्यक्ष जितेर उनीहरुकै सेवा गर्ने व्यञ्जनकारले बताएका छन् ।

ललितपुरको कुपण्डोल नारायणी होटल आसपासको क्षेत्रका बासिन्दामाझ लोकप्रिय रहेका उनले स्थानीय बासिन्दाकै आग्रहमा फेरि पनि चुनाव लड्न लागेको बताए ।

२०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका उनले त्यतिबेला दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराएका थिए । त्यसयता यो वडाको नेतृत्व उनले नै गर्दै आएका छन् ।

बहुदल आएपछिको पहिलो स्थानीय चुनावमा उनी नेपाली कांग्रेसको तर्फबाट निर्विरोध भएका थिए । गत चुनावमा भने उनी स्वतन्त्रबाट उठेका थिए । ललितपुर महानगरमा उनको दर्तासँगै उम्मेद्वारी दर्ता सुरु भएको छ । यो पटक पनि स्वतन्त्र बनेर नै उठेका हुन् ।

यस्तै काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार एक कार्यक्रमको आयोजना गरेर उनले उम्मेदवारी मनोनयनअघि २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गनेर प्राविधिक शिक्षामा जोड दिने बताएका छन् । त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उल्लेख गरेका छन् ।

काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहु तले पार्किङमा परिणत गरिने र काठमाडौँ महानगरपालिका को आफ्नै ट्याक्सी एप सञ्चालन गरिने उनको योजना छ ।

स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना उनले अघि सारेका छन् । शाहले सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने बताएका छन् ।

बस स्टपहरूमा फल्चा स्थापना गरिने उनको भनाइ छ । शाहले सार्वजनिक तथा महानगरिय यातायातलाई एउटै छाता संगठन अन्तर्गत ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस