Latest News

गोरखामा पनि भत्कियो गठबन्धन, एक्ला एक्लै चुनावमा जाने निर्णय

Nepalese Times April 24, 2022 (1 Year ago)    494 Views

गोरखामा सत्तागठबन्धनबीच स्थानीय चुनावमा तालमेल नहुने भएको छ।आठ पटकसम्म सत्तागठबन्धनका जिल्लास्तरका नेताहरूबीच चुनावी तालमेलका लागि छलफलमा बसे पनि भागबन्डाबारे कुरा मिलेको थिएन।

उम्मेदवारी दर्ता गर्ने दिनसम्म दलहरूबीच सहमति नजुटेपछि नेपाली कांग्रेसले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले ११ वटै स्थानीय तहमा सोमबार कांग्रेसका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने बताए।

उनकाअनुसार अब सत्तागठबन्धनका दलहरूसँग मित्रवत प्रतिस्पर्धा हुनेछ। केन्द्रले चुनावी तालमेल गर्न हस्तक्षेप गरे पनि अब नमान्ने सभापति न्यौपानेले बताए।

०७४ को स्थानीय चुनावमा ११ मध्ये ९ स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको थियो।यसपालि चुनावमा चुनावी तालमेल गर्दा माओवादीले छ वटा स्थानीय तह मागेको थियो। नेकपा एकीकृत समाजवादीले एक पालिका र केही वडा मागेको थियो।

जसपाले भने सुरूदेखि नै मित्रवत प्रतिस्पर्धा भनिरहेको थियो। उसले गठबन्धन बैठकमा नेकपा एमालेले जितेका वडामा भने मिलेर चुनाव लड्नुपर्ने प्रस्ताव गरिरहेको थियो।कांग्रेसले भने ०७४ मा जितेको ९ मध्ये ८ स्थानीय तहमा दाबी छाडेको थिएन।

‘गठबन्धन जोगिएर जान्छ भने हामी लचिलो हुनुपर्छ भनेका थियो,’ सभापति न्यौपानेले भने, ‘कुरा मिलेन, अब मित्रवत प्रतिस्पर्धा गर्ने हो। सत्तागठबन्धनलाई हामी जीवित राख्न चाहन्थ्यौं तर दु:खका साथ भन्नुपर्छ, केही साथीहरूको राजनीतिक अपरिपक्कताले गर्दा हामीले गठबन्धनलाई सँगै लैजान सकेनौं।’

शनिबार मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले जिल्लामा कांग्रेसलाई पाँच, माओवादी केन्द्रलाई चार र जनता समाजवादी पार्टी (जसपा) लाई पालुङटार नगरपालिकासहित एक पालिका नेतृत्व दिनेगरि सहमति गर्न भनेको थियो।

तर केन्द्रको निर्देशनलाई कांग्रेसले अस्वीकार गरेको छ। कांग्रेस बाहिरिएसँगै गोरखामा अब चुनावी भिडन्त पनि रोचक भएको छ।

प्रतिक्रिया दिनुहोस