Latest News

काठमाडौंमा सिर्जना सिंह र केशव स्थापितबीच कडा टक्कर हुने, कसले मार्ला बाजी ?

Nepalese Times April 24, 2022 (1 Year ago)    1891 Views

काठमाडौं । निर्वाचन आयोगले आज र भोलिका लागि स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको छ। आज र भोलीमा काठमाडौं महनगरपालिकाको मेयर पदका लागि दर्जनभन्दा धेरै व्यक्तिले उम्मेदवार दर्ता गर्ने तयारी गरेका छन् ।

स्वतन्त्र उम्मेदवारीदेखि विभिन्न राजनीतिक दलबाट उम्मेदवार घोषणा भइसकेको छ भने केहीले आजसम्ममा उम्मेदवारको छिनोफानो गरेर भोलिसम्ममा उम्मेदवारी दर्ता गर्ने तयारीमा जुटेका छन् ।

काठमाडौं महानगरपालिकामा यसअघि पनि स्वतन्त्र उम्मेदवार र वैकल्पिक शक्ति भनिएकाहरुको उम्मेदवार खडा गर्ने काम नभएको होइन । तर जित भने राजनीतिक दलका उम्मेदवारको नै हुन्दै आएको छ ।

यो पटक सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयर पदमा टिकट पाएकी छिन् । कांग्रेस नेता प्रकाशमान सिंह पत्नीसमेत रहेकी उनलाई यो पटकको चुनावमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को पनि साथ रहेको छ ।

सिर्जना सिंहलाई टक्कर दिनका लागि नेकपा एमालेले भने पूर्व मेयर केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । अहिलेका उम्मेदवार विद्यासुन्दर शाक्यदेखि अरु व्यक्तिहरुले पनि काठमाडौं महानगरपालिकाको मेयर बन्ने ईच्छा व्यक्त गरेपनि अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओलीेले स्थापितलाई मेयरको टिकट दिने निर्णय गरेका हुन् ।

यो पटक काठमाडौं महानगरपालिकामा यीनै दुई उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । अरु राजनीतिक दलहरुबाट उम्मेदवारी घोषणा गराकाहरुको भन्दा यी दुई उम्मेदवारको चर्चा अलि धेरै नै छ ।

को हुन् सिर्जना सिंह ?

सिर्जना सिंह गणेशमान र मंगलादेवी सिंह परिवारको सदस्यहुन् । उनको आफ्नै राजनीतिक पृष्ठभूमिसमेत रहेको छ । गोरखा बजारमा जन्मिएकी सिर्जना २०४२ सालमा गणेशमान परिवारमा भित्रिएकी हुन् ।

तर, राजनीतिक संघर्षको यात्रा भने उनले गोरखाबाटै सुरुवात गरेकी थिइन् । २०३३ सालमा कांग्रेसको सदस्यता लिएकी उनी त्यही वर्ष गोरखाको महिला संघकी सभापति बनेकी थिइन् ।

पेसाले केही समय उनले नर्सिङ काम पनि गरिन् । नर्सिङ पढ्दापढ्दै समाजशास्त्र पढ्न थालिन् । स्नातक पढ्दै गर्दा शंकरदेव कलेजमा उनी स्ववियुको कोषाध्यक्ष भएकी थिइन् । त्यतिबेला उनीसँग हालकी ऊर्जामन्त्री रहेकी पम्फा भुसालले प्रतिस्पर्धा गरेकी थिइन् । सिर्जनाले पछि त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा एमए गरिन् ।

प्रजातन्त्र स्थापनाका लागि वाम गठबन्धनमा भएको ०४६ सालको आन्दोलनको नेतृत्व गणेशमानले गरेका थिए र चाक्सीबारी त्यसको मुख्य केन्द्र बनेको थियो । काठमाडौं महिला संघले चैत १४ मै सिर्जनाको नाम प्रस्ताव गरेको थियो ।

त्यसपछि काठमाडौंको तरुण दल र नेविसंघले उनको नाममा सहमति जनाएका थिए । सिर्जनाले पनि श्रीमान् प्रकाशमानबाट नभएर महिला संघबाट आफूलाई अघि बढ्न दबाब आएको बताएकी छिन् ।

को हुन् केशव स्थापित ?

स्थापित यसअघि २०५४ सालमा पनि मेयर निर्वाचित भएका थिए। एमाले विभाजन भएर माले बनेसँगै उनी मालेमा गएका थिए। २०५९ सालमा एमाले र मालेको एकता भएसँगै उनी एमाले फर्किए। तर २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएसँगै उनी दरबारसँग निकट थिए। केही समय काठमाडौं महानगरको मेयर मनोनित भएका थिए।

एमाले छाडेर प्रजापरिषद आबद्ध भएका स्थापित २०६४ को संविधानसभा निर्वाचनमा एमालेमै फर्किएका थिए। एमालेको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका स्थापित त्यसपछि माओवादीसँग नजिकिएका थिए।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापितलाई उपत्यका विकास प्राधिकरणको प्रमुख बनाएका थिए। तर उनले लामो समय काम गरेनन्। दोश्रो संविधानसभामा स्थापित संघीय समाजवादीमा पार्टीमा आवद्ध भएका थिए। काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेर पराजित भए। त्यसपछि स्थापित एमालेमै फर्किएका थिए।

२०७४ को स्थानीय निर्वाचनमा स्थापित काठमाडौंको मेयरमा उठ्न चाहन्थे। तर त्यो बेला विद्यासुन्दर शाक्य उम्मेदवार बने। शाक्यलाई जिताउन उनी निकै खटेका थिए। त्यसकै परिणाम उनले २०७४ मंसिरमा भएको निर्वाचनमा प्रदेश सभाको टिकट पाए।

उनी बागमती प्रदेशको भौतिक मन्त्री समेत बनेका थिए। मुख्यमन्त्री डोरमणि पौडेललाई गाली(गलौज र दुर्व्यवहार गरेपछि उनी २०७६ कात्तिकमा बर्खास्तगीमा परेका थिए। त्यही बेलामा उनलाई दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। यद्यपि यसको कुनै छानबिन भएन।

स्थापितको पालामा काठमाडौं महानगरमा धेरै काम भएको र उनले नै काठमाडौंमा आकाशे पुल अनि सडक फराकिलो बनाउने कामको सुरू गरेको एमालेका नेताहरूको दाबी छ। त्यही बेलाको उनको छवि, खट्न सक्ने, जनतामा गएर आफ्ना कुरा राख्न सक्ने, मतदातालाई विश्वासमा लिन सक्ने खुबीका कारण उम्मेदवार बनाइएको उनका समर्थकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस