Latest News

एमालेबाट भीमलाल बने मेयरको उम्मेदवार, सत्ता गठबन्धनमा भने अझै किचलो

Nepalese Times April 23, 2022 (2 Year ago)    746 Views

काठमाडाैं । नेकपा एमालेले मध्यविन्दु नगरपालिकाको मेयरमा भीमलाल अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । एमालेका जिल्ला सचिवसमेत रहेका उनलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको नेकपा एमालेका एक नेताले बताए ।

नगरपालिका कमिटीले अधिकारीको नाममा सर्वसम्मत निर्णय गरेकोले अधिकारीलाई मेयरको उम्मेदवार बनाइएको हो । उपमेयरको भने अझै टुंगो लागेको छैन ।

नवलपरासी (वर्दघाट, सुस्ता पूर्व) का ४ वटा नगरपालिकामध्ये एउटा नगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाउने एमाले पहिलो दल हो । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले भने शनिबारसम्म कुनै पालिमा पनि प्रमुख र उपप्रमुखको टुंगो लगाउन सकेको छैन ।

कांग्रेसले देवचुली नगरपालिकामा नेपाल सरकारको उपसचिवबाट शुक्रबार राजीनामा दिएका विष्णुप्रसाद भुसाललाई उम्मेदवार बनाउने भएको छ । जिल्लाका शीर्ष नेताहरुले भुसाललाई राजीनामा दिन लगाएका हुन् । त्यहाँ माओवादीलाई उपमेयर दिइएको छ ।

यस्तै नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा पुनः नृप बहादुर वडलाई सिफारिस गरेको छ। कांग्रेसबाट वडसंगै कृष्ण महरा, सुशिला मिश्र भट्ट, हरिस खड्का मेयरका आंकाक्षी थिए। पार्टीले मेयरमा सिफारिस गरेसँगै फेरि उम्मेदवार बन्न उनले आज मेयर पदबाट राजीनामा दिँदैछन्।

अहिलेको अवस्थामा नृप वडनै बलियो उम्मेद्वार मानिएकोले उनलाई उम्मेद्वार बनाउने निर्णय भएको नेपाली कांग्रेसका एक नेताले बताए । पार्टीको निर्णयलाई अन्य आंकाक्षीले स्वीकारेका र सवैको साथ र सर्मथन रहेको उनले बताए ।

शुक्रबार बसेको केन्द्रको बैठकले धनगढीको मेयरमा वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गरेको हो। ४ दिन अघि सत्तारूढ गठबन्धनले गरेको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेको थियो।

यसअघि हालका मेयर वडसँगै कांग्रेस धनगढी नगर कमिटिले ७ जनाको नाम सिफारिस गरेको थियो। मेयरको उम्मेद्वारमा वड निश्चित भए पनि वडा अध्यक्षमा कांग्रेसको भागमा कति पर्छ भन्ने एकिन नभएको ती नेताले बताए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले धनगढीबाट मेयर उपमेयरसँगै १२ वटा वडा जितेको थियो। उपमहानगरपालिकाका १९ वडा मध्ये १९ र १४ नम्वर वडामा एमालेले जितेका थियो। १५, ११, ६, ३, १८ माओवादीले जितेको थियो।

प्रतिक्रिया दिनुहोस