Latest News

गगन थापा नेतृत्वको घोषणा पत्र तयारी समितिमा १९ सदस्य थपिए, थपिनेमा को–को छन् ? (सूचीसहित)

Nepalese Times April 17, 2022 (2 Year ago)    975 Views

काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा १९ जना सदस्यहरु थप भएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयअनुसार सभापति देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित समितिमा थप सदस्यहरू मनोनयन गरेको कांग्रेसले जनाएको छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आइतबार समितिमा १९ सदस्य थप गरेका नेपाली कांग्रेसका एक नेताले बताए । समितिमा किरण यादव, फखरुदीन खान, प्रकाश पन्थ, उमा वादी, सन्तोषमणि नेपाल, डा. लोचन कार्की, श्याम पटेल, कृष्णप्रसाद तिमिल्सिना मनोनयन भएका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

यस्तै, निलकण्ठ शर्मा र विभूषण विष्ट, शिशिर खनाल, सरोज पाठक, कञ्चन झा, प्रेम विश्वकर्मा, सुवास अधिकारी, डा. ई. सुमन कर्ण, गोकर्ण बन्जाडे, कृष्णकुमार सिंह र रमेश पुरीलाई पनि समितिको सदस्यमा मनोनित भएका छन् ।

सभापति देउवाले यसअघि चैत २१ गते महामन्त्री थापा संयोजकत्वको घोषणापत्र तयारी समितिमा २८ जना सदस्यहरु मनोनयन गरेका थिए।समितिले लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने तयारीका साथ काम गरिरहेको छ।

यस्तै नेपाली काँग्रेसले काठमाडौँ महानगरमा पनि गठबन्धन नगर्ने निर्णयमा पुगेको छ। कांग्रेस काठमाडौं महानगर समितिले गठबन्धन नगर्ने निष्कर्ष निकालेको हो।

आइतबार भएको नगर समितिको बैठकले ३२ वटा वडाका साथै मेयर र उपमेयरमा कांग्रेस एक्लैले चुनाव जित्ने निष्कर्ष निकालेको हो।

यो निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर जित्ने योजना बनाइरहेको कांग्रेसले माओवादी र एकीकृत समाजवादीसहितका गठबन्धन दलसँग तालमेल गर्न नहुने निर्णय गरेको हो।

रुखबाहेक अन्त भोट हाल्न कांग्रेस कार्यकर्ताले अस्वीकार गरेकाले गठबन्धन नगर्ने आफ्नो निष्कर्ष माथिल्लो समितिमा पठाउने तयारी गरिएको महानगर समिति सचिव सुशन वैद्यले बताए।

‘हाम्रो समितिमा ३२ वडाकै साथीहरु हुनुहुन्छ। उहाँहरुको सवै साझा धारणा गठबन्धन नगरी चुनाज जित्न सकिन्छ भन्ने रह्यो। रुख बाहेक अन्य चिह्नमा भोट हाल्न बाध्य नपारियोस् भन्नुभएको छ,’ वैद्यले भने।

आइतवारको बैठकमा १६० सदस्यीय कार्यसमिति सदस्यमध्ये ३६ जनाले आफ्ना धारणा राखेका थिए। सवैले गठबन्धनको विपक्षमा आफ्नो मत प्रकट गरेका छन्। बैठकले आकांक्षीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी भने पदाधिकारीलाई दिएको छ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ मै उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ। मेयरका लागि शाक्यसहित महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रगतिमान रञ्जित, सचिव सुशन वैद्य, सिर्जना सिंह, नरोत्तम वैद्य र तीर्थराम डंगोल आकांक्षी छन्।

 

प्रतिक्रिया दिनुहोस