Latest News

काठमाडौंको मेयर छान्न बसेको सत्ता गठबन्धनको बैठक सकियो, के–के भयो निर्णय ?

Nepalese Times April 16, 2022 (2 Year ago)    1588 Views

काठमाडौं । काठमाडौं जिल्लाका स्थानीय तहहरुमा जनप्रनिधि छान्न बसेको सत्ता गठबन्धनको बैठक विननिष्कर्ष सकिएको छ । चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरुको बैठक विना निष्कर्ष टुंगिएको कांग्रेस, काठमाडौंका जिल्ला सभापति सबुज बानियाँले बताए ।

उनका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँट नटुंगिएकाले आइतबार फेरि छलफल गर्ने सहमति भएको र अहिले नै कुन पार्टीबाट कहाँ उम्मेदवार उठाउने भन्ने टुंगो नलागेको हो ।

एकीकृत समाजवादीले कागेश्वरी मनोहरा, बुढानीलकण्ठ, तारकेश्वर, शंखरापुर र कीर्तिपुरको नेतत्व दाबी गरेको छ । माओवादी केन्द्रले पनि शंखरापुर, कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर र टोखा नगरपालिकाको मेयर दाबी गरेको छ ।

स्थानीय निर्वाचन २०७४ मा काठमाडौंका १० स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकासहित बुढानीलकण्ठ, शंखरापुर, कीर्तिपुर, तारकेश्वर, कागेश्वरी–मनोहरा र टोखा नगरपालिकाको प्रमुख जितेको थियो । नेकपा एमाले विभाजित हुँदा कागेश्वरी–मनोहराका मेयर र शंखरापुरका उपमेयर एकीकृत समाजवादीतिर लागेका थिए ।

कांग्रेसले दक्षिणकाली, चन्द्रागिरि र गोकर्णेश्वर नगरपालिकाको प्रमुख जितेको थियो । माओवादी केन्द्रले भने १० पालिकामध्ये चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ८ र शंखरापुर नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष मात्रै जितेको थियो ।

यस्तै चितवनको भरतपुर महानगरपालिका १७ का ५० जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिएका सबैले हस्ताक्षर समेत गरेका छन् । भेला प्रकाश कँडेलको संयोजकत्वमा भएको थियो । भेलाले कांग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ ।

केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय गरेका थिए । राजीनामा दिएकाहरूले कांग्रेस नेतृत्वमाथि विभिन्न आरोपहरू समेत लगाएका छन् ।

भरतपुरको मेयर रेणु दाहाललाई छाडिए कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारीसमेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस