Latest News

विक्रम पाण्डेलाई एमालेको ‘बिग अफर’, प्रचण्ड तनावमा

Nepalese Times April 16, 2022 (2 Year ago)    1812 Views

कठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले चितवनमा माओवादी केन्द्रलाई हराउन राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा र छोरी रेणु दाहाललाई भरतपुरमा हराउन बस्नेतले राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलाई सहकार्यको अफर गरेका हुन्। पाण्डेले चितवन ३ मा प्रचण्डलाई चुनौती दिँदै आएका छन्।

बस्नेतले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै रेणु र उनका बा हराउन पाण्डेलाई एमालेमा आउन वा सूर्य चिन्ह लिएर चुनाव लड्न आग्रह गरे।

आफूले अघिल्लो चुनावमै विक्रम पाण्डेलाई एमालेमा आउन र टिकट लिएर चुनाव लड्न भनेको भन्दै उनले त्यसरी रेणु दाहालाई र रेणुका बालाई हराउन सकिने बताए ।

अब रेणुको बाप्रति विक्रम पाण्डेको सहानुभूति कति छ, त्यसमा आफू नजान्ने भन्दै उनले भने, ‘यदि सहानुभूति छैन र यो मुलुकमा निर्वाचित सासद भएर हिँड्ने रहर छ भने एमालेमा प्रवेश गर्ने वा एमालेको सूर्य चिन्ह लिनका लागि सबभन्दा राम्रो आधार हुन्छ।’

भरतपुरमा गठबन्धनलाई असहयोग गर्छौं भनेर कांग्रेस बोलेको अवस्था रहेको भन्दै उनले सहकार्यको यो उपयुक्त मौका भएको बताए । घोषित रुपमा राजेन्द्र लिङ्देनको राप्रपासँग गठबन्धन नहुने भन्दै उनले भने, ‘एकआध ठाउँमा सहकार्य होला। गठबन्धन कति जटिल छ भन्ने सत्ता गठबन्धनबाट महसुस गरेका छौं ।’

उनले भने, ‘एमालेले गठबन्धन गर्ने भन्दा पनि चुनाव चिन्ह लिएर सहकार्य गर्न आउँछन् भने यसलाई स्वभाविक रुपमा लिने र राप्रपासँग गठबन्धन होला जस्तो नलागेको बताए ।

कमल थापाको राप्रपा नेपाल र परिवार दललगायत साना दलसँग भएको सहकार्यलाई गठबन्धन भन्न नमिल्ने भन्दै उनले एमालेको जनआकर्षण र प्रभावबाट विभिन्न दलका केही नेताहरु नजिक भएका बताए ।

साना दलहरु र राजनीतिक व्यक्तिहरु एमाले सूर्य चिन्ह लिएर चुनावमा सहभागी हुन खोजेका भन्दै उनले यसले एमालेसँग निकटता बढाउने र भविष्यमा एमालेमै आबद्ध हुने अभियान पनि हुनसक्ने बताए ।

चुनावी तालमेलको जटिलताले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यही कारणले निर्वाचन सार्न खोजेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस