Latest News

काँग्रेस नेता कोइरालाको महंगो चुनाव खर्च

Nepalese Times April 9, 2022 (2 Year ago)    567 Views

नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताएका छन् । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उनको भनाइ छ । नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले बताए ।

‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो । दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भने ।

उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गरे । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिए ।

कोइरालाले आगामी निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने बताएका छन् । नेविसंघ ईलाम–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परीक्षण गर्न पनि कांग्रेस एक्लै प्रतिष्पर्धामा जानुपर्ने बताएका हुन् ।

चूनावमा तालमेल भए माओवादी र एमालेबीच सहकार्य हुनसक्ने खतरा रहेको पार्टी सभापतिको चिन्ता रहेको स्वभाविक रहेको उनले बताए । त्यस्तै कोइरालाले मुलुकको निर्वाचन खर्च महङ्गो हुदै गएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस