Latest News

नेपाल बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै, अहिलेसम्म कसले कति मत ल्याए ?

Nepalese Times April 8, 2022 (2 Year ago)    680 Views

काठमाडौं । नेपाल बार एशोसिएशनको निर्वाचनमा अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ।

२६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट उम्मेदवार बनेका उनको अग्रता कायमै रहेको हो ।

हालसम्म छ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले तीन हजार ७२८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन्।

नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार काठमाडौँ केन्द्रको अब एक हजार ३०० मतगणना गर्न बाँकी छ। शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ। हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए।

त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका थिए। नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ।

उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका थिए।

बारमा अध्यक्षका लागि व्यक्तिगत रूपमा र समूहगत रूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ। संसद प्रतिनिधि नभएको साना राजनीतिक सम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गरेका छन्।

नेमतिपा कानुन अध्ययन समाज नेपाल समूहबाट अनिता जोघारीले प्रतिनिधित्व गरेकी छन्। व्यक्तिगतरूपमा उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाले अध्यक्षको उम्मेदवारी दिएका थिए।

संसदमा प्रतिनिधि नभएको साना राजनीतिक दलसम्बद्ध समूहबाट अमिता लक्ष्मी सैजू श्रेष्ठले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरेले गरेका छन्।

प्रतिक्रिया दिनुहोस