Latest News

एमालेले किन गरेन निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धतामा हस्ताक्षर ? यस्तो छ कारण

Nepalese Times April 5, 2022 (2 Year ago)    820 Views

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गर्ने भनिएको आचारसंहितामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ।

आयोगले जारी गर्न लागेको आचारसंहितासम्बन्धी प्रतिवद्धता पत्रलाई लिएर साना दलहरुले चर्को विरोध गरेपछि अवस्था तनावपूर्ण भएको भन्दै एमालेले हस्ताक्षर गर्न नमानेको हो।

आयोगले आचारसिंहताबारेमा राजनीतिक दलहरूबाट प्राप्त सुझाव समेटी राजपत्रमा प्रकाशित गर्नका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षरका लागि दलहरूलाई मंगलबार बोलाएको थियो।

आचारसंहिता आयोगले राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरूलाई हस्ताक्षर गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए।

पौडेलले सबै दललाई हस्ताक्षर गराउन बोलाइएको बताए। तर नेपाल मजदुर किसान पार्टीसहितले आफूहरुसँग छलफल नगरी जारी गर्न लागिएको आचारसंहिता अस्वीकार्य हुने भन्दै आयोगको बैठक हलमै नाराबाजी गरेका थिए।

तर बैठकमा साना दलको पनि आपत्ति रहेको भन्दै एमालेले आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर नगरेको हो। आयोगमा छलफलका लागि मंगलबार एमालेले कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्यलाई पठाएको थियो।

कानुन विभाग प्रमुख बडालले आयोगको बैठक हलमै साना दलको आपत्ति र नाराबाजीपछि तनावपूर्ण अवस्था बनेकाले प्रतिवद्धता पत्रमा हस्ताक्षर नगरिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस