Latest News

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

Nepalese Times April 5, 2022 (2 Year ago)    577 Views

सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने भएको हो।

बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएको हो ।

आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो।

यस्तै निर्वाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दै छ ।

बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ ।

यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदै छ । तर, आचारसंहिता भने लागु भइसकेको छैन ।

उम्मेद्वार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचार संहिताविरुद्धको रिट परेको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

यद्यपि, सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस