Latest News

भरतपुर महानगरको मेयर नछाड्ने कांग्रेसको निर्णय, रेनु दाहाल तनावमा

Nepalese Times April 3, 2022 (2 Year ago)    1470 Views

काठमाडौं । नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकाको मेयर नछाड्ने निर्णय गरेको छ । नेपाली कांग्रेस चितवनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने निर्णय गरेको हो ।

आइतबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद अरु दललाई छाड्न नसकिने निर्णय गरेको पार्टी सभापति राजेश्वर खनालले बताए ।

हाल भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल मेयर छिन् । उनी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत हुन् । कांग्रेसले यो पटक पनि भरतपुरमा माओवादीलाई भोट हाल्न नसकिने निर्णय गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निक्कै तनावमा परेका छन् । उनले छोरी रेनुलाई फेरि एकपटक मेयर पदमा दोहोर्याउने दाबी गर्दै आएका थिए ।

सत्तारुढ दलहरुले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका छन्, तर कांग्रेसको चितवन जिल्ला समितिले तालमेल भएको अवस्थामा पनि अरु दललाई मेयर पद दिन नसकिने निर्णय गरेको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यदेखि वडा सभापतिसहितको बैठकले दिएको सुझावका आधारमा जिल्ला समितिले मेयर पद नछाड्ने निर्णय गरेको खनालको दावी छ । पार्टीका सबै तहका नेता कार्यकर्ताले सुझाव दिएकाले सो भावनाको सम्मान र प्रतिनिधित्व पार्टी नेतृत्वले गर्नुपर्ने उनको भनाइ छ ।

गठबन्धनको ठूलो दल कांग्रेस भएकाले ठूलो पालिका भरतपुर महानगरपालिकाको मेयर पनि कांग्रेसले पाउनुपर्ने माग जायज रहेको सभापति खनालले बताए । कांग्रेस जिल्ला समितिको बैठकले जिल्लाका सातवटै पालिकामा गठवन्धनको तर्फबाट संयन्त्र बनाउने निर्णय बैठकले गरेको छ ।

यस्तै भरतपुर महानगरको मेयरमा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता निलकण्ठ रिजालले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

‘शिक्षा, स्वास्थ र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर, कृषिमा आत्मनिर्भर, प्राविधिक मैत्री हाम्रो भरतपुर महानगर’ भन्ने नारासहित उनले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

कांग्रेसको प्रमुख भातृ संस्था नेविसंघको केन्द्रीय राजनीतिमा लामो समय काम गरेर एक इमानदार र कुशल संगठनकर्ताको छवी बनाएका रिजाल विगत केहि वर्षदेखि जिल्ला केन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

जिल्ला केन्द्रित राजनीतिसँगै भरतपुरको मेयरमा दाबी गरेपछि रिजालको नाम अहिले चितवन कांग्रेसभित्र चर्चामा रहेको छ । युवा नेता रिजाल लामो समय नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री, उपाध्यक्षमा जस्ता महत्वपूर्ण पदमा बसेर काम गरिसकेको छन् ।

कांग्रेस केन्द्रीय समितिको अधिकांश नेताहरू रिजालको पक्षमा रहेकाले मेयरको टिकट रिजालले पाउन सक्ने जिल्ला नेताहरुको बुझाइ रहेको छ । भरतपुरको मेयरमा दाबी गरेसँगै उनी सम्भावित युवा उम्मेद्वारको रुपमा देखिएका छन् ।

बारम्बार राजनीतिमा अवसर पाउँदै गर्दा युवा सधैँ बहिस्कृत हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ । युवा नेता रिजाल लामो समय नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री हुँदै उपाध्यक्षसम्म बनेका हुन् । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समिति अधिकांस नेविसंघको राजनीतिबाटै उदाएका छन्।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिमा अगाडि बढेका रिजाल पछिल्लो समय चितवन कांग्रेसका सबै गतिविधिमा सरिक हुँदै आएका छन् ।

भरतपुरमै जन्मेर, भरतपुरकै माटोमा हुर्के बढेको हुनाले भरतपुरवासीको वास्तविक समस्या आफूले लामो समय अगाडिदेखि नै देखेको, बुझेको र प्रत्यक्ष अनुभव गर्ने अवसर पाएकाले महानगरवासीको मन जित्न सक्ने उनको दावी छ ।

देशको मध्य भागमा रहेको भरतपुरलाई देशकै नमुना शहर बनाउने आफूसँग स्पष्ट दृष्टिकोण र कार्ययोजना समेत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस