Latest News

काठमाडौं र पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीको दाबी, को–को हुन् उम्मेदवार ?

Nepalese Times April 3, 2022 (2 Year ago)    662 Views

काठमाडौं । स्थानीय तहको चुनावमा तालमेल गर्ने निर्णय गरेको सत्तारुढ दलले कुन पालिका कसलाई भन्ने निर्णय अहिलेसम्म गरेको छैन । विशेषगरी महानगरपालिका र उपमहानगरपालिका चासोको रुपमा हेरिएकोले महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट नै निर्णयको प्रयास भईरहेको छ ।

यसै सिलसिलामा नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकामा मेयरको दाबी गरेको छ । आज पोखरा पुगेका श्रममन्त्री किसान श्रेष्ठले आफ्नो पार्टीले पोखरामा मेयरको दाबी गरेको खुलासा गरेका हुन् ।

काठमाडौं र पोखरामा तत्कालीन नेकपा एमालेले जितेको कारण आफूहरुले यी दुई महानगरपालिकामा मेयरको दाबी गरेको श्रेष्ठले बताए । कम्तिमा पनिज पोखरा महानगरपालिकाको नेतृत्व लिएर अगाडि बढ्न आफूहरु तयारी अवस्थामा रहेको उनले बताए ।

पोखरामा नेकपा एसले धनराज आचार्यलाई अगाडि सार्ने तयारी गरेको छ । आचार्यलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आवश्यक तयारी गर्न भनिसकेका छन् । आचार्य विद्यार्थी राजनीति देखि नै एमालेमा सक्रिय थिए । एमाले फुटेपछि उनी नेकपा एसमा लागेका हुन् ।

सत्ता गठबन्धनमा ६ वटा महानगरपालिकामा मेयरको उम्मेदवारी संयुक्त रुपमा दिंदा नेकपा एसले पोखरा महानगरपालिका पाउने उनको भनाई थियो । ६ वटा महानगरपालिकामध्ये एउटा पनि नपाउने भएमा गठबन्धनको औचित्य नहुने समेत बताए ।

मन्त्री श्रेष्ठले ३० वैशाखमा बाकस खोल्दा नेकपा एमाले नराम्रोसँग पराजित हुने ठोकुवा गरे । उनले भने, ‘वैशाख ३० गते बाक्सा खोलेपछि बामालेहरु कहाँ पुग्छन् हेर्दै जानुहोस् ।’ ओलीलाई धुन्धकारी संज्ञा दिदै भने, ‘यस्ता धुन्धकारी निस्किए कि हेर्दै जानुहोस् बामालेहरु कहाँ पुग्नेछन् ।’

यस्तै  भरतपुर महानगरको मेयरमा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता निलकण्ठ रिजालले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

‘शिक्षा, स्वास्थ र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर, कृषिमा आत्मनिर्भर, प्राविधिक मैत्री हाम्रो भरतपुर महानगर’ भन्ने नारासहित उनले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

कांग्रेसको प्रमुख भातृ संस्था नेविसंघको केन्द्रीय राजनीतिमा लामो समय काम गरेर एक इमानदार र कुशल संगठनकर्ताको छवी बनाएका रिजाल विगत केहि वर्षदेखि जिल्ला केन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

जिल्ला केन्द्रित राजनीतिसँगै भरतपुरको मेयरमा दाबी गरेपछि रिजालको नाम अहिले चितवन कांग्रेसभित्र चर्चामा रहेको छ । युवा नेता रिजाल लामो समय नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री, उपाध्यक्षमा जस्ता महत्वपूर्ण पदमा बसेर काम गरिसकेको छन् ।

कांग्रेस केन्द्रीय समितिको अधिकांश नेताहरू रिजालको पक्षमा रहेकाले मेयरको टिकट रिजालले पाउन सक्ने जिल्ला नेताहरुको बुझाइ रहेको छ । भरतपुरको मेयरमा दाबी गरेसँगै उनी सम्भावित युवा उम्मेद्वारको रुपमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस