Latest News

लोसपा पनि सरकार र गठबन्धनमा, को–को बन्दै छन् नयाँ मन्त्री ?

Nepalese Times March 29, 2022 (2 Year ago)    749 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुने करिब करिब निश्चित भएको छ । सरकारमा सहभागी भएपछि स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा सहभागी हुने विषयमा पनि छलफल भइरहेको छ ।

यो विषयमा सो पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँग घनिभूत छलफलमा छन् । सो छलफललाई केही दिनभित्रै सार्थक रूप दिन उनीहरू सकारात्मक रहेको स्रोतको दाबी छ ।

सरकार र पाँच दलीय गठबन्धनमा सहभागिता तथा ३० वैशाखमा हुने निर्वाचनका विषयमा छलफल गर्न लोसपाले भोलि बुधबार पार्टीको कार्यकारिणी समिति बैठक बोलाएको छ ।

लोसपा नेता सञ्जय यादवका अनुसार बैठकमा निर्वाचनसहित विभिन्न विषयमा छलफल हुनेछ । प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर फर्केलगत्तै यो विषयलाई किनारा लगाउने विषयमा छलफल अगाडि बढेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री देउवा १८ चैतमा भारत जाने र २० चैतमा स्वदेश फर्कने कार्यक्रम तय भइसकेको छ । उता, कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा निरन्तरता दिने कि नदिने भन्ने विषयमा बहस जारी नै छ ।

जसपा स्रोतका अनुसार प्रधानमन्त्री देउवा र जसपा नेताबीच सहमति भएपछि आगामी निर्वाचनमा गठबन्धन गर्ने र पार्टीका तर्फबाट तीन नेता संघीय सरकारमा मन्त्री हुनेछन् । शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, चन्दा चौधरी र एकबाल मियाँमध्येबाट मन्त्री चयन गर्ने विषयमा सो पार्टीभित्र छलफल भइरहेको छ ।

यसका लागि कांग्रेस, माओवादी र एकीकृत समाजवादीका एक÷एक मन्त्रीलाई फिर्ता बोलाउने योजनामा प्रधानमन्त्री देउवा रहेका छन् ।

देउवा निकटका नेताका अनुसार लोसपासमेत निर्वाचनअघि सरकारमा सहभागी हुने निश्चित जस्तै भएको छ । लोसपा कार्यकारिणी समितिका सदस्य इकबाल मियाँले प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच चुनावी तालमेल, पार्टीले उठाएको मुद्दालगायत विषयमा छलफल भएको बताए । लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । राजधानी दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस