Latest News

ज्वालामूखीको गाडी संकास्पद रुपमा जलेको अवस्थामा फेला, प्रहरीले अनुसन्धान गर्दै

Nepalese Times September 12, 2025 (1 Day ago)    278 Views

धादिङ । धदिङको ज्वालामूखी गाउँपालिकाको सरकारी गाडी संकास्पद रुपमा जलेको अवस्थामा फेला परेको छ । बा १ झ ५७६६ नम्बरको गाडी ज्वालामूखी गाउँपालिकाको कार्यलय नजिकै जलेको अवस्थामा फेला परेको हो ।

मेलम्ची खानेपानी आयोजनाको यो गाडी १ वर्षअघि मर्मत गरेर आवश्यकताको आधारमा संचालन गर्नेगरी ज्वालामूखी गाउँपालिकामा लगिएको थियो ।

मर्मत गर्नुपर्ने अवस्थामा थन्किएर बसेको मेलम्चीको पुरानो यो गाडी खानेपानी मन्त्रालयमार्फत सचिवस्तरीय निर्णय गराएर ज्वालामूखी लगिएको पालिका अध्यक्ष यमनाथ दनैले बताए ।

गाडी कसले जलाए ?

गाडी जलेको ३ दिन वितिसक्दा पनि ज्वालामूखी गाउँपालिकाले यो विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यसबारे पालिका अध्यक्ष दनैसँग सम्पर्क गर्दा उनले संलग्नहरुको पहिचान गर्ने काम भइरहेको बताउँछन् ।

घटना नियोजित देखिएको र यो आन्दोलनको क्रममा नभई जानाजान जलाउने काम भएको उनको दाबी छ । यसमा केही जिम्मेवार मान्छेहरु नै संलग्न देखिएकोसमेत उनको दाबी छ ।

तपाईहरुमाथि नै प्रश्न उठिरहेको छ नि ? भन्ने प्रश्नमा पालिका अध्यक्ष दनै भन्छन्, ‘मेलम्ची खानेपानीको यो पुरानो गाडी हामीले आवश्यक पर्दा पालिकाका कर्मचारी लगायतले प्रयोग गर्नेगरी मन्त्रीस्तरीय निर्णय गराएर ल्याएका हौँ, हामीले प्रहरीलाई निष्पक्ष रुपमा अनुसन्धान गर्न भनेका छौँ, समय आएपछि बोल्छौँ ।’

अनुसन्धान भइरहेको छ – डीएसपी हमाल
यो घटनामा संलग्नहरुमाथि अनुसन्धान भईंरहेको जिल्ला प्रहरी कार्यलय धादिङका डीएसपी सुवास हमाल बताउँछन् । उनको भनाई अनुसार यो घटना जेनजीको आन्दोलनको छेको पारेर २५ गते बुधबारको दिन भएको छ ।

२४ गते काठमाडौंलगायत देशका विभिन्न ठाउँमा जेनजी समूहले आन्दोलन गरेको थियो । यसैको छेको पारेर सुनियोजित ढंगले धादिङमा रहेको ग्यारेजबाट लगेर ज्वालामूखी गाउँपालिकाको कार्यलय नजिक पुर्याएर गाडी जलाउने काम भएको देखिएको र यसबारे अध्ययन भईरहेको डीएसपी हमालले बताए ।

प्रतिक्रिया दिनुहोस