Latest News

लोसपा सांसद र काँग्रेस महासमिति सदस्यसहित दर्जनौं नेता एमालेमा प्रवेश, स्वागत गर्दै ओलीले के- के भने ?

Nepalese Times August 21, 2022 (2 Year ago)    396 Views

वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टीबाट मधेश प्रदेशसभा सदस्य प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित गिरी शनिबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

उनीसँगै नेकपा एकीकृत समाजवादी निकट युवा संघका सचिव अरूण यादव, जसपा निकट समाजवादी विद्यार्थी युनियनका सचिव सुजित गिरी पनि एमाले प्रवेश गरेका छन् ।

त्यसैगरी नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय सदस्य आलम गिर हुसेन, जिल्ला अध्यक्ष भुपेन्द्र साह लगायतका नेता एमाले प्रवेश गरेको एमाले वीरगञ्ज महानगरपालिका कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिए।

त्यस्तै, स्याङ्जाको चापाकोट निवासी काँग्रेसका महासमिति सदस्य वस्ताकोटीको नेतृत्वमा एमालेमा प्रवेश गर्नेहरूमा तीर्थराज अधिकारी, जीता राना मगर, कृष्ण पोखरेल, सन्तोष अधिकारी, गणेश अधिकारी, दिलकुमारी थापा, श्रीकुमारी मल्ल, कमल राना, भानु पोखरेल, विवेक राना, प्रकाश ताम्राकार, सुदर्शन अधिकारी, राधाकृष्ण वस्ताकोटी, विनोद भट्टराई, सन्तोष पोखरेल, केशव वस्ताकोटी, प्रतीक गैरे लगायत छन् ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला कमिटी सदस्य सूर्य भट्टराई पनि एमालेमा प्रवेश गरेका छन्  ।
उनीहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशी साथीहरूलाई तत्काल जिम्मेवारी दिई सक्रिय बनाउन सम्बन्धित पार्टी कमिटीलाई निर्देशन दिए ।

अध्यक्ष ओलीले स्वार्थबाहेक कुनै गन्तव्य नभएका गठबन्धनमा रहेका दलहरूले देशलाई बर्बादीको दिशामा लगिरहेकाले देशलाई जोगाउन आगामी निर्वाचनमा पार्टीले अत्यधिक बहुमतका साथ विजय हासिल गर्नुपर्ने बताए ।

स्थानीय निर्वाचनमा काँग्रेसले राज्यसत्ताको दुरूपयोग गरेको र छिमेकी मारेर निर्वाचनमा विजय प्राप्त गरेको प्रसंग जोड्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा काँग्रेस लगायत गठबन्धनमा रहेका दलहरूले डर, त्रास, धम्कीको भाषामा मत लुट्ने प्रयास गर्ने हुँदा त्यस विरूद्ध उत्रने गरी तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष ओलीले भने– ‘नेकपा (एमाले) लाई भोट लुटेर जित्नु छैन, लुटेको भोट चाहिँदैन, जनताको विश्वासको भोट मात्र चाहिएको छ । कसैले मताधिकार लुट्न खोज्छन् भने एमालेका कार्यकर्ताले टुलुटुलु हेरेर बस्न सक्दैनन् । त्यस्तालाई नियन्त्रणमा लिएर जवाफ दिनुपर्छ । त्यसका लागि तयारी गर्नूस् ।’

‘हामी लडेको किन ? जनताले मताधिकार पाउनुपर्छ भनेर होइन ? तर काँग्रेस आफूलाई लोकतान्त्रिक भन्छ, काम अलोकतान्त्रिक गर्छ । राणा, राजा, काँग्रेस, माओवादी जो सुकैले गरे पनि लोकतन्त्रको मजाक उडाउने काम एमालेलाई मान्य हुँदैन ।’

नागरिकता विधेयकमा रहेका त्रुटीहरूका बारेमा संसदले पुनर्विचार गरोस्, छलफल गरोस् भनी राष्ट्रपतिले संसदमा फिर्ता पठाएपछि संसदमा प्रवेश नपाउँदै गठबन्धनका दलहरूले जस्ताको तस्तै फेरि पठाउने भनी बाहिरै निर्णय गरेको प्रसंग जोड्दै अध्यक्ष ओलीले ‘गठबन्धनवालाहरूको खोपडीमा अहंकार, दम्भ र घमण्ड मात्र रहेको र बहुमत छ भन्ने नाममा नेपाली जनतालाई हेप्ने काम गरेको’ बताए ।

प्रतिक्रिया दिनुहोस