Latest News

कांग्रेस नेता प्रदीप गिरीको कस्तो छ अवस्था ? परिवारले निकाल्यो विज्ञप्ति

Nepalese Times August 20, 2022 (2 Year ago)    417 Views

काठमाडौं –

ललितपुरको नख्खुमा उपचाररत सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बनेको छ । गिरिकी पत्नी भारती सिलवाल गिरिले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न समेत अपिल गरेकी हुन् ।

भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि झण्डै एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल भर्ना भएको भारतीले जानकारी दिएकी छन् । अहिले निमोनिया बढेको भन्दै वत्तव्यमा भनिएको छ, ‘यसले धेरै अंगहरु फेल भइरहेका छन् ।’

यद्यपि अहिले पनि डाक्टरहरुको टिम उपचारमा जुटिरहेको भन्दै उनले धन्यवाद दिएकी छन् र गिरिको स्वास्थ्यलाभको कामना गर्न समर्थनहरुलाई आग्रह गरेकी छन् ।

हेर्नुस् प्रदीप गिरिकी पत्नी भारतीले जारी गरेको विज्ञप्ति

राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिएका सांसद गिरिको स्वास्थ्यबारे जानकारी लिँदै उनको स्वास्थ्यलाभको कामना गरेकी हुन्।

राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले गिरिका परिवारसँग पनि भेट गरी सहानुभूति प्रकट गर्नुका साथै स्वास्थ्य लाभको कामना गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

करिब एक घण्टासम्म अस्पतालमा रहेकी थिइन् । प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।

नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन नौ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ ।

शनिबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस