काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी हुन्। राष्ट्रपति भण्डारी बिहान ११ बजे अस्पताल पुगेकी थिइन्।
नेता गिरिको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति भण्डारीसमक्ष ब्रिफिङ गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति करिब एक घण्टासम्म अस्पताल बसेका थिए।
मेडिसिटी अस्पतालमा नेता गिरीको अवस्था बुझेपछि राष्ट्रपति भण्डारी निक्कै भावुक बनेकी थिइन् । उनै निक्कै स्तब्ध बनेर फर्किएकी उनको सचिवालयले जनाएको ।
यसअघि आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
गिरि प्राणघातक क्यान्सर रोगबाट ग्रसित भई भारत स्थित हिन्दुजा लगायतका प्रसिद्व अस्पतालको उपचार पश्चात बिगत २६ दिनदेखि नेपाल मेडीसिटी अस्पताल भैंसिपाटिमा उपचारका लागि भर्ना भएका थिए ।
पछिल्लो तीन दिनदेखि गिरिको आईसीयूको ५५० नम्बरको बेडमा उपचार भइरहेको छ । आईसीयूमा राखिएका बिरामीलाई पनि भेन्टिलेरको सहयोग पर्न सक्छ, गिरिको उपचार भइरहेको बेड नन् इन्भेसिभ भेन्टिलेटर रहेको अस्पताल स्रोतले जनाएको छ ।
गिरिको स्वास्थ्य लाभको कामना गर्दै काठमाडौंमा शुक्रबार प्रार्थाना सभा आयोजना गरिएको छ । साथै उनको जन्म स्थल सिरहाको बस्तीपुरमा समेत शुक्रबार किर्तन लगाउने र तुलसीमोठमा साँझपख बत्ति बालेर स्वास्थ्य लाभको कामना गरिएको छ ।
शुक्रबार गिरिलाई भेटेर फर्किएका कांग्रेस नेता बिमलेन्द्र निधिले ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं’भनेर ट्वीट गरेका छन् ।
शुरुमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको घाँटीको देब्रे भागमा सानो आकारको ट्यूमर देखिएको थियो । ट्यूमर अन्त कतै नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको थियो ।
गतबर्ष साउन महिनामा भारतमा उपचार शुरु भएर नेपाली कांग्रेसको १५ औं महाधिवेशन सम्पन्न भएपछि एक साताको लागि काठमाडौं आएका गिरि डाक्टरहरुकै सल्लाहमा फेरी उपचारका लागि मुम्वई गएका थिए ।
पाँच बर्ष अघि उनलाई प्रोस्टेड क्यान्सर भएकाले मुम्वईमा उपचार पछि पूर्ण निको भएर नियमित औषधी खाँदै थिए । गिरिका बुबा मित्रलाल गिरी नेपाली कांग्रेसका नेता भएकाले सानै उमेरमा उनी राजनीतिमा संलग्न रहेका थिए ।
वि.सं. २०१७ सालदेखि सक्रिय राजनीति प्रारम्भ गरेका गिरि राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष र २०४५ सालमा बहुदलिय व्यवस्थाको पक्षमा आन्दोलन अगाडी बढाउने क्रमको शुरुवातमै पक्राऊ परेका थिए ।
उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए भने पटक पटक नेपाली कांग्रेसको केन्द्रिय सदस्य रहेका थिए । कांग्रेसमा शेरबहादुर देउवालाई साथ दिने व्यक्तित्वका रुपमा चिनिएका गिरिले १५ औं महाधिवेशनको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह र बिमलेन्द्र नीधिलाई देउवाको पक्षमा लाग्न सहमत गराउन भारतमा बसीबसी महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रदीप गिरि आफू २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए भने पछि संविधानसभामा समानुपातिक सांसदको रुपमा र २०७४ सालमा सिरहा क्षेत्र नं. १ बाट संघीय सांसदमा विजयी भएर अहिले सांसदको रुपमा रहेका छन् ।
कहिल्यै मन्त्री हुन नचाहने प्रदीप गिरिले केहीलाई मन्त्री भने बनाएका थिए । उनी हक्की र राजनीतिक ज्ञानले ओतप्रोत भएका व्यक्तिको रुपमा परिचित छन् । उनले राजनीतिक विश्लेषणमा जहिलेपनि धार्मिक उदाहरणहरु दिने र नेपाली कांग्रेसलाई संकटपर्दा संसदमा बेला बखत निकासको बिचार दिएर उनलाई कांग्रेस चाहिनु भन्दा नेपाली कांग्रेसलाई प्रदीप गिरि चाहिएको छ भन्ने सन्देश दिन सफल भएका छन् ।
भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका गिरिले नेपालको बिषयमा उक्त विश्वविद्यालयमा विद्यावारिधी गर्न आउने विद्यार्थीहरुको लागि नेपालको बारेमा आधारभुत जानकारी दिनका लागि प्राध्यापन समेत गरेका थिए ।
गिरिले लेनिन, नारी, मार्क्सवाद, गान्धी, लोहिया, विपीका बारेमा दर्जनौ पुस्तकको लेखक र सम्पादक भएर पुस्तक प्रकाशन गरेका छन् । गिरीको उपचार गरिरहेका डाक्टरहरुले शुक्रवार साँझ एक सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार ‘उहाँ क्रिटिकल अवस्थामा हुनुहुन्छ । ’ ‘क्यान्सरको अन्तिम चरणमा हुनुहुन्छ, सुधार हुने सम्भावना निकै कम छ ।’
गिरिलाई चिन्ने बुझ्ने र सुन्नेहरु अहिले उनको स्वास्थ्य स्थितिको बारेमा चलेको हल्लाबाट साह्रै चिन्तित भएका छन् । उनको स्वास्थ्यलाभको कामना गरेर सोसल मिडिया भरिएको छ ।