काठमाडौं । नेपालको सबैभन्दा जेठो अस्पतालको रुपमा परिचित बीर अस्पतालमा चरम लापरबाहीको खबर कुनै नौलो होइन ।
यसअघि पनि यो अस्पतालमा उपचारका लागि पुगेका बिरामीहरुको अकालमै ज्यान गएका घटनाहरु बाहिरिएका थिए ।
पछिल्लो एउटा घटनाले वीर अस्पतालमा कतिसम्मको लापरबाही हुँदोरहेछ भन्ने छर्लंग पारिदिएको छ । वीर अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेशन गर्न जानुभएकी राधिका ओझाको अघिल्लो भागको ३ वटा दाँत झिकिएको छ ।
५० वर्षीया राधिका साउन ३० गते आफै हिँडेर अस्पताल भर्ना भएकी थिइन् । राम्रो अनुहार, दाँतमा कुनै समस्या नभएकी राधिका अप्रेशनबाट निस्किदा तीन वटा दाँत गुमाएर फर्किइन् ।
राधिकालाई डाक्टर जेके ओझाको टिमले उपचार गरेको आफन्तको भनाइ छ । पित्तथैलीको पत्थरीको अप्रेशन गर्न अप्रेशन थियटरमा दाँत केही नभएकी आमा पठाउँदा अगाडिका तीन वटा दाँत निकालिएको भन्दै आफन्तहरुले आक्रोश पोखेका छन् । उनीहरु भन्छन्, – हामी गरिबको आवाज सुनिदिने को छ ?
उनीहरुले यो घटनामा उचित छानविन गर्नसमेत माग गरेका छन् । यस्ता डाक्टरहरुले आफूहरुलाई मार्न सक्ने भन्दै आफन्तहरुले पित्तथैलीको पत्थरीको अप्रेशन गर्दा दाँत निकाल्दिनेले अरु अंग निकाल्न सक्ने बताए ।
बिरामीका आफन्तले भने, – ‘त्यो बेला पित्तथैलीमा पत्थरी छ भनियो । अप्रेशन गर्नुपर्छ भनेर ३१ गतेको डेट दिइयो । हामी ३० गते नै अस्पताल आएर भर्ना भयौँ । ३१ गते अप्रेशन थियटरमा लगियो । केही घण्टापछि अप्रेशन सफल भएको छ भनेर सुनाईयो हामी खुशी भयौँ । आमा भेन्टिलेटरमा हुनुहुन्थ्यो ।’
अगाडि बोल्न सक्ने अवस्था नभएको र आफूहरुले भेन्टिलेटरमा खासै देख्न नपाएको भन्दै उनले त्यसपछि आइसीयूमा लगिएको बताए ।उनले भने, – ‘त्यहाँ बिहान बेलुका भेट्न पायौँ । आइसीयूमा भेट्दा आमाको अगाडिको दाँत देखिएन ।’
उनले भने – ‘तीन वटा दाँत नदेख्दा हामी चकित भयौँ । आमालेपनि मेरो पत्थरीको अप्रेशन गरेको हो कि दाँतको अप्रेशन गरेको हो भनेर सोध्नुभयो । हामी चकित भयौँ । अहिले डाक्टरहरुले १० हजार दिन्छौ, ५ हजार दिन्छौ ।’
आफन्तका अनुसार अस्पतालका अधिकारीले दाँत त हो नी जहाँपनि हाल्न सकिन्छ भन्ने घटिया खालका जवाफ दिइरहेका छन् । नेपाल सरकारका उपसचिव सागर मिश्रले कुनै रेस्पोन्स नै नगरेकोसमेत बिरामीका आफन्तले बताएका छन् ।
बिरामी लिएर जानुहोस् पछि कुरा गरौँला भन्दै अन्याय गरिरहेको भन्दै उनले आफूहरुलाई न्याय चाहिने बताएका छन् ।