काठमाडौं । नेपाल समाजवादी पार्टी गठन गरेर नयाँ राजनीतिक यात्रा सुरु गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अन्ततः माओवादी केन्द्रको दैलोमा आइपुगेका छन् ।
आउँदो मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा उनको पार्टीले माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट चुनाव लड्ने औपचारिक निर्णयसमेत भइसकेको छ ।
नयाँ पार्टी गठन गरेको केही दिनमै माओवादी केन्द्रसँग काँध मिलान जानुलाई विश्लेषकहरुले भट्टराईले सेफ ल्याण्डिङ गोजेको भनेर विश्लेषणसमेत गरिरहेका छन् । माओवादी केन्द्रमा सिधै फर्कंदा आफ्नो साख जोगाउन र निकटहरुको चित्त बुझाउन गार्हो हुने भएपछि उनले नयाँ पार्टी गठन गरेर माओवादी केन्द्रसँग बार्गेनिङको भर्याङ्ग बनाएका हुन् ।
भट्टराईले माओवादी केन्द्रमा वरिष्ठ नेताको जिम्मेवारी पाउने पक्कापक्की नै भएका माओवादी केन्द्रका एक नेताले बताएका छन् । पार्टीको वरिष्ठ नेता पाउने भएपछि उनले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव नलड्नेसमेत भनिसकेका छन् ।
आफूलाई वरिष्ठ नेताको जिम्मेवारी र छोरी मानुषी यमी भट्टराईलाई राजनीतिमा स्थापित गराउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएपछि उनी गोरखा २ बाट पछि हट्न लागेका हुन्।
माओवादी नेतृत्वले उक्त क्षेत्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई छाडिदिनुपर्ने सर्त राखेपछि भट्टराईले सहमति जनाएको पार्टी उच्च स्रोतले बतायो। तर राष्ट्रियसभा सदस्य रहेका नारायणकाजीले राजीनामा दिएर प्रतिनिधिसभाको सदस्य दाबी गरेमात्र उनलाई उक्त क्षेत्रमा टिकट दिइने तयारी माओवादी नेतृत्वको छ।
भट्टराईको चाहना आफू राजनीतिको एउटा कित्तामा प्रभावशाली रूपमा रहिरहने र छोरीलाई पनि राजनीतिमा उदाएको देखौँ भन्ने रहेको छ। राजनीतिमा आफ्नो अस्तित्व कायमै राख्ने र छोरी मानुषीलाई स्थापित गराउने भट्टराईको चाहना देखिएको र सोही चाहना पूरा गरिदिने नेतृत्वको आश्वासनपछि उनी माओवादीको चुनाव चिह्नमा निर्वाचन लड्न तयार भएका एक नेताले बताए ।
साउन ३१ मा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादीकै चुनाव चिह्नमा चुनाव लड्ने सहमति भएको थियो। प्रचण्डले छोरी रेनुलाई राजनीतिमा स्थापित गराएकाले आफूले पनि मानुषीलाई स्थापित गराउने चाहना भट्टराईले माओवादी नेतृत्वसँग राखेका थिए।
‘प्रचण्डजीले छोरीलाई राजनीतिमा स्थापित गराइसक्नुभएको छ। मैले पनि छोरीलाई सक्रिय राजनीतिमा स्थापित गराउनु नै छ’, भट्टराईको भनाइ उधृत गर्दै माओवादीका एक नेताले भने।
‘मैले दुई पटक लगातार निर्वाचनमा हारेँ। तयारी नपुगेर वा आफ्नैमा केही कमजोरी रहेर वा धोकाले हारेँ होला। जे–जे भएर हारेँ पनि हारेँ। तर अब जित्ने चुनाव गोरखाबाटै लड्नेछु।’
भट्टराई निर्वाचनअघि वा निर्वाचनलगत्तै माओवादी केन्द्रमा औपचारिक रूपमा प्रवेश गर्ने तयारी छ। उनलाई प्रचण्डले वरिष्ठ नेताको जिम्मेवारी दिने भएका छन्। विगतमा पनि प्रचण्डलाई श्रेष्ठ र बाबुरामलाई पार्टीमा मिलाउन हम्मेहम्मे पर्दथ्यो।
यसपटक भने प्रचण्डले दुवै नेतालाई सँगै राखेर पार्टीमा आएमा भट्टराईले पाउने जिम्मेवारी, मानुषीलाई राजनीतिमा स्थापित गराउने र निर्वाचनमा भागबण्डा मिलाउने विषयमा कुराकानी गरेका छन्।
भट्टराईको जिम्मेवारी र मानुषीको व्यवस्थापनमा सहमति जुटे पनि आगामी निर्वाचनमा नेपाल समाजवादी पार्टीलाई दिइने सिट संख्याका बारेमा छलफल जारी रहेको पार्टी स्रोतले बतायो।
माओवादी गठबन्धनमा बार्गेनिङ गरी अधिक सिट जिताएर सत्ताको साँचो आफूमा राख्ने रणनीतिमा छ। कांग्रेस र एमाले दुवैको बहुमत नआउने आकलन माओवादी नेतृत्वको छ।
आफ्नो दल जता गए उतै बहुमत हुने भएकाले प्रचण्डले निर्वाचनमा कांग्रेससहितको गठबन्धनसँग सहकार्य गर्न लागेका हुन्। तर प्रचण्डले सरकार बनाउने समयमा एमालेसँग सहकार्य गर्ने सम्भावना पनि उत्तिकै छ।
त्यसैले माओवादीले विभिन्न दलसँग सहकार्य गर्ने रणनीति लिएको छ। भट्टराईसँग पनि सोही कारणले सहमति गरेको हो। भट्टराई माओवादीमा आइनसके पनि चुनाव चिह्न दिने सहमतिले पार्टीमा सकारात्मक सन्देश जाने बुझाइ माओवादी नेतृत्वको छ।