काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथिको घोचपेच रोकेका छैनन् ।
काठमाडौंको फोहोरमैला र खासगरी मेयर बालेन शाहलाई लक्षित गरी सामाजिक सञ्जालमा उनले लगातार टिप्पणी लेखिरहेका छन्।
काठमाडौं आएर फर्किएलगत्तै उनले बालेनले काम गर्न नसकेको भन्दै निरन्तर टिप्पणी गरिरहेका छन् । उनले आफ्ना फेसबुक स्ट्याटस र भिडिओमा प्रयोग गरेको भाषाशैलीलाई लिएर सामाजिक सञ्जालमा विरोध पनि भइरहेको छ।
काठमाडौं महानगरलाई काम गर्न कठिन भएको भए आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै हर्कले भने एक जनाले गुलेली हान्यो, बाख्रा मार्यो भनेर नहुँने बताए ।
आफूले सामाजिक सञ्जालमा लेखेका टिप्पणीलाई आलोचनाका रूपमा होइन, सुझावका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ ।
केही दिनअघि काठमाडौं आएका साम्पाङले फर्केलगत्तै आफ्नो फेसबुकमा काठमाडौंको फोहोर सफा होस् भन्ने कामना गर्दै स्ट्याटस लेखेका थिए।
त्यसको एक घन्टापछि उनले अर्को स्ट्याटस लेखे, ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ१ कमसे कम काम त सुरू गरे ।’
यही स्ट्याटसमुनि बालेनले जवाफ फर्काए, हो नि । तपाईंकै लौरा चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि।
यो क्रम यतिमै सीमित रहेन। त्यसपछि हर्कले लगातार अरु स्टाटसहरु पनि लेख्दै गए ।
उनले काठमाडौंको फोहोरका कारण धरानका उपमेयर अइन्द्रविक्रम बेघालाई पखाला लागेको समेत बताएका छन् ।
उनले भनेका छन्, ‘हाम्रो उपमेयरलाई त्यहाँ बसुन्जेल पखाला लाग्यो । त्यसपछि मैले व्यंग्य गरेको हुँ। जबसम्म फोहोर उठ्दैन, म व्यंग्य गरिरहन्छु।
उनले अगाडि भने, ‘जुन दिनसम्म काठमाडौंको फोहोर सोहोरिँदैन, सहर सफा हुँदैन। त्यसैले धरानले मात्र होइन, चारैतिरबाट प्रहार गर्नुपर्छ अनि बल्ल काम हुन्छ।’
धरानमा श्रमदान प्रवर्द्धन गर्दै आएका साम्पाङले ढुंगा बोक्नु मात्र श्रमदान नभएको बताए।जनप्रतिनिधिहरू देश बनाउने अभियानमा लागेकाले सबैतिरका र सबै किसिमका बेथितिबारे बोल्नुपर्ने उनले बताएका छन् ।