Latest News

नागरिकता विधेयक प्रकरणः राष्ट्रपति भण्डारी खुसी हुनेगरी गगन थापाले दिए यस्तो प्रतिक्रिया

Nepalese Times August 18, 2022 (2 Year ago)    478 Views

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएकी लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन् ।

उनले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएकी स्वीकार गरे । उनले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताए ।

उनले विधेयक पास नगर्दा नेपाली नागरिकहरु नै अधिकारबाट वञ्चित रहने पनि बताए । सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ सचेत गराएको पनि बताए ।

उनले वैवाहिक अंगीकृतका सम्बन्धमा राष्ट्रपति भण्डारीले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्ने कुरा नराम्रो नभएको बताए । वैवाहिक अंगीकृतका सम्बन्धमा जाँदा पनि लैंगिक समानता हुने गरेर वर्ष राखेर विधेयक पास हुनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभएको छ । प्रादेशिक पहिचानको व्यवस्था, समानार्थ नागरिकता प्राप्तिका लागि लगायत संविधान प्रदत्त नागरिकता सम्बन्धी सबै प्रावधानलाई समेट्नुपर्ने विषय उठाउनुभएको छ । लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधारका ठाउँहरु छन् भन्ने विषयहरु पनि उठाउनुभएको छ । खास गरेर आमाको आत्मसम्मानको विषय । महत्वपूर्ण कुरा जुन हामीले विधेयक बन्ने बेलामा पनि छलफल गरेका थियौँ । संशोधन पनि राखेका थियौँ ।’

उनले फेरि भने, ‘खास गरेर आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ हामी सबै सचेत रहने कुरालाई गम्भीरताका साथ उठाउनुभएको छ । केही कुराहरुका लागि भने संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । वैवाहिक अंगीकृतका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्नुभएको छ, त्यो ठिक हो । हामीले आज यो विधेयक पारित गरेनौँ भने वैवाहिक अंगीकृतको सम्बन्धमा ७, ८, ९ वर्ष जे भन्छौं त्यो व्यवस्था लागू हुन्छ भन्ने लाग्छ । तर त्यो सत्य होइन भन्ने हामी सबैलाई थाहा छ । यो विधेयक पारित गरेनौँ भनेपनि वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा त एउटा व्यवस्था छ ।’

उनले थप भने, ‘वैवाहिक अंगीकृतका सम्बन्धमा बितेको ४० वर्षदेखि एउटै व्यवस्था छ । आज यो विधेयक रोक्दा नेपाली नागरिकबाट जन्मिएकाले नागरिकता पाउँदैनन् । तर वैवाहिक अंगीकृतका सम्बन्धमा हामीले रोकेपनि पाउँछौँ । त्यो प्रावधान त छ । वर्ष राखौँ तर राख्दै गर्दा लैंगिक समानता हुनुपर्छ । सरकारले ल्याउँदै गर्दा तत्काल जे आवश्यक छ त्यो ल्याएको छ, भोलि संशोधन गर्दै जाने हो ।’

सांसद थापाले संविधानले नछोएको बारेमा संसदमा चर्चा भइरहेको बताए । उनले संविधान संशोधन गरेर भएपनि अहिलेको व्यवस्थालाई नछोएको कुरामा छलफल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस