काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका डुब्लिकेटका रुपमा चिनिएका सुनिल रिजालले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
उनले काठमाडौंको क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने बताएका छन् ।
बालेन्द्रले जस्तै उनले पनि स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । जित्ने लक्ष्यसहित चुनावमा होमिन लागेको र तयारी सुरु गरिसकेको उनले बताए ।
आफू लामो समयदेखि समाज सेवामा संलग्न रहेको भन्दै उनले आफ्नो क्षेत्रमा राम्रै पकड रहेको दावी गरे । जनताकै आग्रहमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।
चन्द्रागिरी नपा १३ का रिजाल विगतमा सरकारी सेवामा थिए । गरिबी निवारण कोषमा लेखा तथा प्रशासन महाशाखा प्रमुख भएर काम गरेको उनले बताए ।
लायन्स क्लब अफ काडमाडौं दियालोको संस्थापक अध्यक्षसमेत रहेका उनले सरकारी सेवामा प्रवेशअघि निजी क्षेत्रमा अडिटिङको काम गर्थे । उनको सीएको पढाइ भने अधुरो छ ।
टिकटकमा उनले बालेनको गेटअप र बडी ल्याङ्ग्वेज कपी गरेरै फलोअर्स बटुलिरहेका छन् । पहिले बालेनको कपी गर्नुअघि उनका कम फलोअर्स थिए ।
अहिले एक लाख १८ हजार पुगेका छन् । टिकटकमा सुरु सुरुमा धेरै मान्छेहरु झुक्किए । बालेन नै भन्ठानेर कमेन्ट गरे । तर, अहिले विस्तारै सबैलाई थाहा हुन थालेको छ । तैपनि अझै कतिपय झुक्किन्छन् ।
आफू स्वयंलाई बालेनसँग अनुहार मिल्छ जस्तो नलाग्ने उनले बताए ।
उनले दाह्री पहिल्यैबाट पाल्थे । बालेन चर्चामा आएसँगै मानिसहरु झुक्किएको महसुस गर्न थालेपछि रिजालले बालेनको गेटअप कपी गर्न थालेका हुन् । एकपछि अर्को भिडियो भाइरल भएपछि उनी पनि हौसिए । तर, आजकाल भने सुनील रिजालकै रुपमा प्रस्तुत हुन थालेका छन् ।
आफूले अहिलेसम्म बालेनलाई प्रत्यक्ष नभेटेको रिजालले बताएका छन् । यद्यपि बालेनको टीमका व्यक्तिहरुलाई विभिन्न सल्लाह–सुझाव दिँदै आएको उनको भनाइ छ ।
रिजालले केही समयअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । गरिबी निवारण कोषमै हुँदा उनी एउटा अनुसन्धानको विषयमा जानकारी गराउन प्रचण्ड निवास पुगेका थिए ।
बालेनकै भेषमा आएका रिजाललाई देखेर प्रचण्ड नराम्ररी झुक्किए पनि । बालेनका कारण आफूलाई फाइदा र बेफाइदा दुवै भएको बताउँछन् रिजाल ।