Latest News

रेणु दाहाल र सुनिता डंगोलसहित क-कसले बुझाएनन् निर्वाचन खर्च विवरण ? (नामावलीसहित)

Nepalese Times August 18, 2022 (2 Year ago)    363 Views

काठमाडौं–

वैशाख ३० भएको स्थानीय तह निर्वाचनको पाँच महिना बितिसक्दा पनि निर्वाचन खर्च विवरण नबुझाउने एक लाख २३ हजार ७ सय ८३ जनाको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

निर्वाचन सम्पन्न भएको ३० दिनभित्र तोकिएको ढाँचामा खर्च विवरण बुझाउनुपर्ने हुन्छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार तोकिएको अवधिमा खर्च विवरण नबुझाउनेहरुलाई सुरुमा चेतावनी दिइएको र बिहीबार नामावली सार्वजनिक गरिएको हो।

अब पनि खर्च विवरण नबुझाउनेलाई कारबाही प्रक्रिया अगाडि बढाइने छ। आयोगले साउन ३० गते सूचना प्रकाशित गर्दै एक साताभित्र खर्च विवरण नबुझाउनुको कारण पेस गर्न निर्देशन दिएको थियो।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६ ५२ जना गरी १ लाख २३ हजार ७८३ जनाको नाम सार्वजनिक भएको थपलियाले जानकारी दिए।

यसरी खर्च विवरण नबुझाउनेहरु सातै प्रदेशका निर्वाचित र पराजित दुवै उम्मेदवार रहेका छन्। निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले तोकिएको अविधिभन्दा केही ढिला खर्च विवरण बुझाएका छन्। यस्तै काठमाडौंकै स्वतन्त्र उम्मेदवार सुमन सायमीले भने खर्च विवरण पेस थरेका छैनन्।

उपमेयरमा निर्वाचित सुनिता डंगोलले पनि हालसम्म आफ्नो निर्वाचनको खर्च विवरण आयोगसमक्ष पेस गरेकी छैनन्। काठमाडौं महानगरमै मेयर पदकी उम्मेदवार बनेकी विवेकशील साझाकी समीक्षा बास्कोटाले पनि खर्च विवरण बुझाएकी छैनन्।

नेपाली कां‍ग्रेसबाट मेयर पदकी उम्मेदवार बनेकी सृजना सिंहले भने तोकिएको अवधिभन्दा ढिलो खर्च विवरण बुझाएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार भरतपुर महानगरपालिकाका मेयर र उपमेयर दुवैले हालसम्म पनि निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन्। मेयर रेणु दाहाल र उममेयर कांग्रेसका चित्रसेन अधिकारीले खर्च विवरण पेस नगरेको आयोगले जनाएको छ।

यस्तै नेपाली कांग्रेसबाट मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पनि खर्चको विवरण पेस गरेका छैनन्। नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने खर्चको विवरण समयमै पेस गरेको आयोगले जनाएको छ।

यता ललितपुर महानगरपालिकाका मेयर र उपमेयर दुवैले तोकिएको अवधिभित्रै खर्च विवरण बुझाएका छन्। मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्यले भने तोकिएकै अवधिभित्र निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ढिलो गरी विवरण बुझाए पनि उपमेयर मञ्जुदेवी गुरुङले भने अहिलेसम्म खर्च विवरण बुझाएकी छैनन्। बागमती प्रदेशका २२ हजार ६ सय ६७ उम्मेदवारमध्ये ७० प्रतिशतभन्दा धेरैले खर्च विवरण पेस नगरेको आयोगको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस