Latest News

फोहोर फाल्न कांग्रेस कार्यकर्ताले अवरोध गरेपछि बल्ल बोले गगन थापा, के-के भने ?

Nepalese Times August 17, 2022 (2 Year ago)    260 Views

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोरले महामारी फैलिन सक्ने बताएका छन्। बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै उनले सबै जना मिलेर समाधान निकाल्न आह्वान गरेका छन्।

उनले बुधबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमार्फत् सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा अवरोध नगर्न पार्टीको स्थानीय तहको नेतृत्वलाई आग्रह गरेका हुन्।

महामन्त्री थापाले अन्य राजनीतिक दलका स्थानीय नेता–कार्यकर्तालाई पनि अवरोध हटाएर समाधान खोज्ने कार्यमा सघाउन पनि आग्रह गरेका छन्।

‘पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आव्हान गर्न चाहन्छु– हाम्रा कुनै पनि तहको कोही साथी अवरोधमा संलग्न नहुनुस्, समाधानका लागि सक्रिय हुनुहोस्,’ उनले भनेका छन्, ‘अन्य दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छु–अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।’

महामन्त्री थापाले काठमाडौँ फोहोरले अस्तव्यस्त भएको र यही अवस्था अझ केही दिन रहे महामारी फैलिन सक्ने सम्भावना रहेको पनि उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘अतः सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु-कृपया अवरोध नगरिदिनुहोस् आउनुस् बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ।’

थापाले लेखेका छन्:
काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ। अझ केही दिन यस्तै रहे महामारी फैलन सक्ने सम्भावना छ। अतः सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौं, संवाद र समीक्षा गरौं, समाधान निकालौं।

निश्चय नै यस्तो सुन्दा प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोश हुन्छ- हामीसँग भएको सम्झौता कार्यान्वयन कहिले हुन्छ? केही सम्झौता कामनपाले गरेको छ। महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ। विश्वास गरौं।

कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरका विषय छन्। सङ्घीय सरकारको क्षेत्राधिकार भित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको छ। यो सम्झौता पूरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो। प्रधानमन्त्रीलाई भेटेर भनेका छौं, साथै सहरी विकास मन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आउनासाथ एकछिन नछोडी काम गर्छौं। केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईंहरूसँग गरेको सम्झौता पूरा गराएर छाड्नेछौं, प्रतिबद्धता पूरा गर्नेछौं, गराउनेछौं। हामी यस पटक तपाईंलाई निराश बनाउने छैनौं।

नेपाली कांग्रेस पार्टीको तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ। पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आह्वान गर्न चाहन्छु- पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्। अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ- अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।

सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौं, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔं, सबैले सहयोग गरौं, समाधान निकालौं।’

प्रतिक्रिया दिनुहोस