Latest News

शेरबहादुर देउवाले अपमान गरेको भन्दै यी नेतृले गरिन् कांग्रेस छाड्ने घोषणा

Nepalese Times August 17, 2022 (2 Year ago)    430 Views

रुपन्देही ।

नेपाली कांग्रेसले मङ्गलवार १० महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा आफू नपरेको भन्दै नेतृ पार्वती डिसी चौधरीले पार्टीसँगको साइनो तोड्ने चेतावनी दिएकी छन् ।

मङ्गलवार साँझ सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि लेख्दै उनले छिट्टै कांग्रेससँगको साइनो तोड्ने जनाएकी छन् ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले लेखेकी छन्, ‘आज केन्द्रीय सदस्यमा १० जना महिला मनोनीत हुँदा पार्वता डिसी चौधरी अट्न सकिन, त्यसको लागि धन्यवाद छ । छिट्टै कांग्रेससँगको साइनो तोड्दैछु ।’


दाङबाट राजनीति गरेकी उनी देउवा समूहमै रहे पनि पछिल्लो समय इतर समूहसँग पनि नजिकमा रहेकी थिइन् । देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

मनोनित हुनेहरुमा राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), किरण यादव (महोत्तरी), उर्मिला थपलिया (धादिङ्ग), रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी), र सीता देवकोटा (नवलपुर) रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौँमा डाकेर प्रशिक्षण दिइरहेको छ।

कांग्रेसले पार्टीका तर्फबाट गत वैशाख ३० गते निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई भेला गरेको हो।

‘बधाई-शुभकामना तथा अभिमुखीकरण’ कार्यक्रम आयोजना गरेर कांग्रेसले जिल्ला समन्वय समितिका ३४ जना प्रमुख र २३ जना उपप्रमुख, महानगर-उपमहानगर-नगरपालिकाका १ सय ४१ जना प्रमुख र १ सय १० जना उपप्रमुख, गाउँपालिकाका १ सय ८८ जना अध्यक्ष र १ सय ९० जना उपाध्यक्षलाई काठमाडौँ बोलाएको छ।

उनीहरुलाई बोलाएर कांग्रेसले सोमबारदेखि ललितपुरको सानेपास्थित एक होटलमा स्थानीय सरकारलाई थप सशक्त र जनमुखी बनाउने विषयमा प्रशिक्षण दिइरहेको छ। जनप्रतिनिधिलाई पहिलो दिन काशीराज दाहाल, जगदीश भट्टराई, डा. विद्यानाथ पौडेल र सन्तोषमणि नेपालले प्रशिक्षण दिएका छन्।

मंगलबार महामन्त्री गगन थापाले ‘नेपाली कांग्रेसको संकल्प पत्र– स्थानीय सरकारको मार्गचित्र, प्राथमिकता र प्रतिज्ञा’ विषयमा प्रशिक्षण दिएका छन्। प्रशिक्षणलाई उनले प्रताप पौडेल र इन्जिनियर दिपेश विष्टले सघाएका छन्

यसअघि शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चुनावका लागि कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङ्दम्बेले जानकारी दिए।

‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरिनेछ’, बैठकको निर्णय सुनाउँदै उनले भने।

यसैगरी निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने बैठकले निर्णय गरेको उनले जनाए।

यसैगरी कांग्रेसले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान पनि सारेको छ। यसअघि भदौ २ गतेदेखि गर्ने भनिएको उक्त अभियान भदौ १० गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस