काठमाडौं
प्रहरीले निहारिका राजपूत प्रकरणमा आरोपित भनिएका शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ।
मंगलबार साँझ उनलाई धनुषा बजारबाट पक्राउ गरिएको हो। प्रहरी प्रवक्ता टेकप्रसाद राईले आरोपित श्रेष्ठलाई साँझ करिब साढे ७ बजे पक्राउ गरिएको पुष्टि गरे।
निहारिका प्रकरणमा धनुषा प्रहरी टोलीले पक्राउ उनलाई पक्राउ गरेको र अब आवश्यक अनुसन्धान पक्रिया अगाडि बढ्ने प्रहरी प्रवक्ता राईको भनाइ छ ।
आफूमाथि बलात्कार भएको आरोप लगाउँदै आएकी निहारिकाले डीएन परीक्षणको माग गर्दै आएकी छन्। बलात्कारबाटै बच्चाको जन्म दिएको दाबी गर्दै आएकी उनले राजधानी केन्द्रित आन्दोलन गर्दै आएकी छन्।
हालै उनले राष्ट्रपति कार्यालय अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। प्रहरीले तत्कालै उद्धार गरेर अस्पताल पुर्याएको थियो।
घटनालगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले निहारिका प्रकरणमा चासो देखाएकी थिइन्। उनले महान्याधिवक्ता र कानुनमन्त्रीलाई डाकेर निकारिका प्रकरणका सम्बन्धमा छलफल गरेकी थिइन्।
यसैक्रममा शिवराजले निहारिकासँग प्रेम सम्बन्ध रहँदा शारिरिक सम्पक रहेको स्वीकार गरेका छन् । नेप्लिज टाइम्ससँग कुरा गर्दै उनले आफूले धेरै पहिले प्रेममा हुँदा सहमतिमा शारिरिक सम्बन्ध राखेको बताए ।
सुरुमा नै आफूहरुबीच शारिरिक सम्बन्ध रहेको भएपनि पछि निहारिका अर्को व्यक्तिसँग पनि हिड्ने गरेको थाहा पाएपछि आफू नै टाढा हुँदै गएको शिवराजको भनाइ छ ।
पक्राउ पर्नुभन्दा अगाडि नेप्लिज टाइम्ससँग कुरा गर्दै शिवराजले भने, ‘हामीबीच प्रेम सम्बन्ध हुँदा शारिरिक सम्बन्ध नभएको होइन, भएको थियो । तर, अहिलेको बच्चा मेरो होइन । उनी अरुसँग पनि हिड्ने थाहा पाएपछि म टाढिँदै गएको हुँ ।
उनले आफू डीएनए परीक्षण गर्न तयार रहेकोसमेत बताएका छन् । सुरुदेखि नै आफू डीएनए परीक्षण गर्न तयार रहेको तर निहारिकाको नयत भनेको आफूलाई जसरी पनि बलात्कारको केश लगाएर जेल चलान गर्ने रहेको शिवराजको भनाइ छ ।