Latest News

खुमलटार पुगेर हर्क साम्पाङले प्रचण्डको हातबाट लगाए खादा, के–के भयो कुराकानी ?

Nepalese Times August 16, 2022 (2 Year ago)    289 Views

काठमाडौं ।

धरानका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । भेटका क्रमा अध्यक्ष प्रचण्डले साम्पाङलाई स्वागत र सम्मान स्वरुप खादा लगाइदिएका थिए ।

धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारसँग छलफल गर्न काठमाडौं आएका मेयर साम्पाङले मंगलवार माओवादी अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेका हुन् ।

मेयर साम्पाङ र प्रचण्डबीच धरानका उपमेयर आईन्द्रविक्रम बेघाको संयोजनमा भेट भएको बताइएको छ । बेघा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएका थिए ।

भेटमा समसामयिक राजनीतिका साथै विकासका विभिन्न पक्षका बारेमा कुराकानी भएको बताइएको छ ।

यस्तै चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने निर्णयमा पुगेका बाबुराम भट्टराई माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भेट्न पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित पेरिसडाँडामा पुगेका हुन् ।

माओवादी केन्द्रको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी चुनावमा नेपाल समाजवादी पार्टीले लिने सिटबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।

मंगलबार विहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिने विषयमा भएको मौखिक सहमतिबारे पार्टी सदस्यहरुलाई जानकारी गराइसकेका छन्।

नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आसन्न निर्वाचनमा एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने जानकारी आज निर्वाचन आयोगलाई गराउँदै छन् ।

उक्त निर्णयबारे जानकारी गराउन माओवादी केन्द्रबाट शिव खकुरेल र नेसपाबाट खगेन्द्र देवकोटा मंगलबार दिउँसो निर्वाचन अयाोग गएका छन् ।

प्रतिक्रिया दिनुहोस