Latest News

राष्ट्रपति भण्डारीकी छोरी उषाकिरणले कहाँबाट दिने भइन् उम्मेदवारी ?

Nepalese Times August 16, 2022 (2 Year ago)    455 Views

काठमाडौं । नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीले पनि मंसिर ४ को प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने भएकी छिन् ।

नेकपा एमालेले उषाकिरणलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको हो। उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेका छन् ।

अखिल नेपाल महिला संघबाट राजनीतिमा प्रवेश गरेकी भण्डारी एमालेका पूर्वमहासचिव मदन भण्डारी तथा राष्ट्रपति विद्या भण्डारीकी जेठी छोरी हुन् ।

मदन भण्डारी फाउन्डेसनको नेतृत्व गरिरहेकी उनी चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं भ्रमणमा आउँदा प्रथम महिलाको हैसियतमा स्वागतमा सरिक थिइन् ।

भण्डारी यसअघि नै सक्रिय राजनीतिमा भए पनि संसदीय प्रतिष्पर्धामा आउन एमाले अध्यक्ष ओलीले नै जोड गरिरहेको बालकोट निकट स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्या भण्डारी अब सक्रिय राजनीतिमा फर्कने सम्भावना न्युन रहेको अवस्थामा उषाकिरण भण्डारीलाई अगाडि सार्न उपयुक्त बेला भएको एमालेका ती नेताले तर्क गरे ।

भण्डारी संसदीय राजनीतिमा आएमा एमालेमा पनि पारिवारिक विरासतको राजनीतिले ठाउँ पाउँदै गएको मानिने छ ।

भर्खरै भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीमा लगेको छ । सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरियो । पार्टी अध्यक्ष ओलीको चाहना उषाजीलाई उठाउने रहेको भण्डारीसँगै कमिटीमा रहेका एमाले नेताले बताएका छन् ।

भण्डारीलाई काठमाडौं २ मा लैजान सकिने एमालेका नेताहरुले बताएका छन् । यसअघिका चुनावहरुमा माधव नेपालले लड्दै आएको क्षेत्रमा भण्डारी जाँदा कार्यकर्तामा सही सन्देश जाने उनीहरुको भनाइ छ ।

भण्डारीले भने आफ्नो उम्मेदवारीबारे कुनै निर्णय नभएको दाबी गर्दै त्यसबारे चर्चा गर्न चाहिनन् । ‘म अहिले उठ्नेबारे कुनै निर्णय भएको छैन, त्यो पार्टीको कुरा हो,’ भण्डारीले भनिन्, ‘मैले कुनै इच्छा पनि देखाएकी छैन ।’

प्रतिक्रिया दिनुहोस