काठमाडौँ — आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् ।
मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो । त्यसको स्वागत गर्छौ । उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरिेका छौं,’ महराले भने ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले वामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिए । माओवादी स्थायी कमिटी बैठक बुधवार फेरि बस्ने महराले बताए।
तत्कालीन नेकपामा विभाजन देखिएपछि तटस्थ बसेका वामदेव एमाले ब्यूँतिएपछि केपी शर्मा ओली नेतृत्वमा बस्न नसक्ने भन्दै बाहिरिएका थिए।
त्यसपछि नेकपा राष्ट्रिय एकता अभियान नामक दल पनि उनले निर्वाचन आयोगमा दर्ता गराएका थिए। मंगलबारकै बैठकले जनता समाजवादी छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराई पनि आफ्नो चुनाव चिह्नबाट लड्न दिने निर्णय भइसकेको छ
भट्टराईले माओवादीको चुनाव चिन्हबाट लड्ने प्रस्ताव गरेका थिए। सो प्रस्तावबारे आजको बैठकले निर्णय गरेको हो।
भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिने विषयमा भएको मौखिक सहमतिबारे पार्टी सदस्यहरुलाई जानकारी गराइसकेका छन्।
नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आसन्न निर्वाचनमा एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने जानकारी आज निर्वाचन आयोगलाई गराउँदै छन् ।
आज दिउँसो १ बजे माओवादी केन्द्र र नेसपाका नेताहरु निर्वाचन आयोगमा गएर एउटै चिह्न लिएर चुनावमा भाग लिने जानकारी गराउने माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।