Latest News

काठमाडौं उत्रियो अमेरिकी सेना, एक महिनासम्म के- के गर्दैछ ?

Nepalese Times August 15, 2022 (2 Year ago)    289 Views

 

काठमाडौं ।

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार दुई देशका सेनाबीच एक महिना सैन्य अभ्यास हुने भएको हो ।

दुई देशका सेनाबीच यही साउन ३१ देखि भदौ ३१ गतेसम्म हुने सैन्य अभ्यासमा नेपालको रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडी सहभागि हुनेछन् ।

उक्त सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट ८० र अमेरिकी सेनाको तर्फबाट १६ गरी ९६ जनाको सहभागि रहने जंगी अड्डाले जनाएको छ । सैन्य अभ्यासका लागि अमेरिकी सेना मंगलबार नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ । अभ्यास सशस्त्र द्वन्द्वका नियम, सैन्य निर्णयका प्रक्रियालगायत विषयमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ।

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक अभ्यासका रुपमा २०७२ सालदेखि ‘ब्यालेन्स नेल’ र ‘टेकनेल’ भइरहेका छन् । २०७२ वैशाख १२ मा नेपालमा भूकम्प गएयता अमेरिकी सेना र नेपाली सेनाबीचको सम्बन्ध प्रगाढ बन्दै गएको हो । भूकम्पका बेलामा दुई सयभन्दा बढी अमेरिकी सेना ६ हेलिकप्टरसहित नेपाल आएको थियो । उद्धारका क्रममा अमेरिकी सेना चढेको एक हेलिकप्टर दोलखामा दुर्घटनासमेत भयो ।

भूकम्पका बेलामा सहयोगका लागि नेपाल आएको अमेरिकी सेना त्यसयता संयुक्त अभ्यासमा विभिन्न समयमा आइरहेको छ । यो संयुक्त अभ्यासको सुरुवात भने माओवादी सशस्त्र युद्धको बेलादेखि सुरु भएको थियो । त्यसबेला सरकारले लगाएको संकटकालमा माओवादी युद्धलाई दबाउनका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सहकार्य भएको थियो । २०७२ साल माघयता नेपाली सेना र अमेरिकी सेनाबीच नेपालमा लगातार रुपमा संयुक्त तालिम तथा अभ्यास हुँदै आएका छन् ।

अमेरिकी सेनाको साविक एसिया प्यासिफिक कमान्ड (हाल इन्डो-प्यासिफिक कमान्ड) को सहयोगमा काठमाडौंको छाउनीस्थित विशेष फोर्स (रेन्जर गण) हाताभित्र करिब १८ करोड लागतमा ‘रिजनल क्राइसिस म्यानेजमेन्ट सेन्टर’ निर्माण गरिएको छ । सोहि सेन्टरमा नेपालमा कोभिड-१९ महामारीमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मुख्य कार्यालय बनाएर काम गरिएको थियो ।

विपद् व्यवस्थापनको सम्बन्धमा होस् या अन्य आपसी कुराहरू साटफेर गर्ने विषयमा होस्; अमेरिकी सेना र उसका पदाधिकारीहरू नेपाल आउने-जाने क्रम बढेको देखिन्छ । कोभिड-१९ संक्रमणको दौरान पनि अमेरिकी सेनाले नेपाली सेनालाई सुरुवातमा स्वास्थ्य सामाग्रीहरू र पछि खोप नै सहयोग गरेको थियो । कोभिड-१९ का कारण रोकिएको संयुक्त सैनिक अभ्यास पनि फेरि सुरु भइसकेको छ ।

अमेरिकी सेनाले नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेको छ । त्यहाँ तालिमका लागि आवश्यक पर्ने र अन्य तालिमका लागि आवश्यक प्रविधिहरू पनि अमेरिकी सेनाले नेपाली सेनालाई उपलब्ध गराएको छ । नेपालले अमेरिकाबाट हातहतियारहरू पनि खरिद गर्दै आइरहेको छ ।

सन् २०१६ को अप्रिलमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणको दौरानमा अमेरिकी सेनाले नेपाली सेनालाई चारवटा स्काईट्रक दिने वाचा गरेको थियो । जसमध्ये दुईवटा स्काईट्रक सन् २०१९ डिसेम्बरमा नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो । थप दुई स्काईट्रक कहिले आउँछ भन्नेबारे नेपाली पक्षले कुनै पनि जानकारी पाएको छैन ।

दुवै देशका सेनाबीच नगरकोटलगायत विभिन्न स्थानहरूमा भएका संयुक्त तालिममा अभ्यास, विभिन्न सैनिक युद्धकलालगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकारजस्ता विषयहरूमा आधारित रही सञ्चालन हुने सेनाले जनाएको छ । अर्को अमेरिकी सेनाको स्पेसल अपरेसन ग्रुपसँगको संयुक्त अभ्यास विपद् व्यवस्थापनसम्बन्धी विविध विषयमा गरी छाउनी, रसुवाको लाङटाङ र कास्कीको पोखरा इलाकामा अभ्यास सञ्चालन हुने बताइएको छ ।

अमेरिकी सेनाले सन् २०१५ मै स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अघि बढाउनका लागि नेपाललाई प्रस्ताव गरेको थियो । उक्त प्रस्तावअनुसार नेपाल र अमेरिकाको युटा राज्यबीचमा विपद् व्यवस्थापनको समयमा अपनाउनुपर्ने सावधानीबारे संयुक्त प्रशिक्षण हुनेछ तर उक्त प्रस्तावलाई सुरक्षाको कारण देखाएर नेपालले अघि बढाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस