Latest News

राष्ट्रपतिलाई महाअभियोगबाट पदच्यूत गर्न तरूण दलको माग

Nepalese Times August 15, 2022 (2 Year ago)    514 Views

काठमाडौं ।

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ।

संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले आइतबार पुन: संसदमै फिर्ता पठाएकोले तरूण दलले राजीनामा मागेको छ।

विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणविना प्रतिनिधि सभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘नागरिकताविहीन नेपाली जनतामाथिको यो अपमान घोर निन्दा र भर्त्सना गर्दछ,’ अध्यक्ष गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूतसमेत गर्न संसद र सरकारसँग तरूण दल केन्द्रीय समिति आग्रह गर्दछ।’

यस्तो छ प्रेस विज्ञप्ती
प्रस्तुत विषयमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वभौमसत्ता सम्पन्न संसदबाट पास भई प्रतिनिधि सभाका सभामुखले प्रमाणित गरी प्रमाणीकरणको लागि राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक विभिन्न अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरण विना प्रतिनिधि सभामा फिर्ता पठाईएको प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यान आकृष्ट भएको छ ।

साथै नागरिकता विहिन नेपाली जनता माथिको यो अपमानको घोर निन्दा र भत्र्सना गर्दछ । राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकता विहिन नागरिकहरुलाई संविधानले दिएको सार्वभौम अधिकार समेत कुण्ठीत हुने गरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरु फेरी अन्धकारको भुमरीमा धकेलिएका छन ।

राष्ट्रको गम्भीर र जनताको जीवन संग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सिमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनि राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूत समेत गर्न सार्वभौम संसद र नेपाल सरकार संग नेपाल तरुण दल केन्द्रीय समिति जोड्दार आग्रह गर्दछ ।
जय नेपाल ।

विद्वान गुरुङ
अध्यक्ष

प्रतिक्रिया दिनुहोस