Latest News

एमाले प्रवेश गर्न बालेनलाई योगेशको प्रस्ताव, के गर्लान् बालेन ?

Nepalese Times August 14, 2022 (2 Year ago)    395 Views

काठमाडौं ।

एमाले सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापन गर्न वर्तमान सरकारको योजना र हुती नभएकाले एमालेसँग सहकार्य गर्न प्रस्ताव गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले एमालेसँग सहकार्य गरे काठमाडौको फोहोर व्यवस्थापन हुने दावी गरे ।

उनले काठमाडौंको फोहोर उठ्न छाडेको आज ७१ दिन पुगेको भन्दै फोहोरले काठमाडौ डुङडुङती गन्हाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्रीहरुले कुनै पहल नगरेको बताए ।

‘फोहोर नउठेको आज ७१ दिन भयो, प्रधानमन्त्रीले पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । झाडापखाला, हैजा लगायतले काठमाडौ डुङडुङती गन्हाउने अवस्था भएको छ’, भट्टराईले भने, ‘यो सरकारले कुनै पहल कदमी गर्दैन, सरकारसँग हुती पनि छैन । त्यसैले म आज सरकारको ध्यानाकर्षण गराउन चाहान्नँ ।’

नेता भट्टराईले भने, ‘म बालेन साहलाई भन्न चाहन्छु, ठोस प्रस्तावसहित आउनुस्, एमालेसँग त्यो भिजन र दृष्टिकोण छ । एमाले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार छ । यदि तपाईं सरकारको भर पर्नुभयो भने तपाई असफल हुने निश्चित छ । काठमाडौंको बर्बादी हुनेछ । साँस्कृतिक सहर काठमाडौंको रक्षा गरौं,धन्यवाद ।’

नियमित रुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ।कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एक मानिसका लागि बनाइएको हो।

दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहर र घरबाट निस्केको फोहरसमेत मानिस आवतजावत गर्ने प्रवेशद्वारमा फल्ने गरिएकाले अहिले उक्त स्थानबाट आवतजावत गर्न सकिने अवस्था छैन।

फोहरकै कारण मानिसले यो प्रवेशद्वार प्रयोग गर्न नपाएको कालीमाटीमा केरा बेच्दै आएकी रमिता लामाको भनाइ छ। उनका अनुसार दुई महिनादेखि यस क्षेत्रमा फोहरको गाडी आएका छैनन्।

कालीमाटीमा गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थानमा पनि फोहरको डङ्गुर थुपारिएकाले यात्रुलाई समस्या पर्नाका साथै फुटपाथमा आवतजावत गर्नसमेत कठिन छ।

कालीमाटीमा मात्रै होइन उपत्यकाको अन्य स्थानमा पनि फोहर थुप्रिएकाले दैनिक जनजीवनमा असर परेको छ। कलङ्की, कालीमाटी, बल्खु, अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फोहर सडक किनारामा हुँदा थुप्रिदा समस्या भएको हो।

प्रतिक्रिया दिनुहोस