Latest News

सत्ता गठबन्धनमा भागबण्डाः कांग्रेसलाई ८० सिट, माओवादीलाई कति ?

Nepalese Times August 13, 2022 (2 Year ago)    261 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबीच नेपाली काँग्रेसले आधा र बाँकी दलले आधा सिट पाउने गरी सहमति हुनसक्ने विषय पार्टी बैठकमा राखेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा सिट बाँडफाँटाबारे अहिलेसम्म कार्यदलले गरेको प्रगतिबारे छलफलमा उनले त्यस्तो भनाई राखेका हुन् ।

बैठकमा प्रचण्डले काँग्रेसले १०० सिट दाबी गरेपनि ८० मा मान्ने विश्वास व्यक्त गरेको सहभागी एक नेताले बताए । प्रचण्डले सिट बाँडफाँटमा आफ्नो दलको दाबीबारे पनि सुझाव लिएका थिए ।

बैठकका सहभागीहरुले कम्तिमा ५० सिट दाबी गर्नुपर्नेमा जोड दिए । विगतमा नेकपा एमालेसँग मिलेर चुनाव लड्दा ८० र ४० मा सहमति भएको विषय पनि उठ्यो ।

काँग्रेसले १०० सिट लिएर समानुपातिकतर्फ समेतको जोडेर बहुमत नजिक पुग्ने रणनीति चालेको विषय पनि उठेको थियो । काँग्रेसले समानुपातिक र प्रत्यक्ष जोड्दा १०० सिट मात्र पुग्ने अवस्था बनेमा मात्र शक्ति सन्तुलन मिल्ने विश्लेषण समेत माओवादीमा भइरहेको छ ।

यस्तै माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त पोष्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्ष भएका छन्। शनिबार सम्पन्न प्रतिष्ठानको सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो।

यस्तै उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिसिधसभा सदस्य एवं माओवादी पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा निर्मल आचार्य चयन भएको प्रतिष्ठानले जनाएको छ। नेता पुन माओवादीभित्र बोगटीका अनुयायीका रुपमा चिन्छिन्।

नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए। सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र र बाहिरसमेत लोकप्रिय थिए।

२०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो।

पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए। बोगटीका एक मात्र छोरा रवि बोगटी तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा २०५९ सालमा उत्तरी धादिङको सत्यदेवीमा मारिएका थिए। प्रतिष्ठानले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस