काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ ।
ओली निवास बालकोटमा उनीहरुबीच भेटवार्ता भएको हो । राप्रपा महामन्त्री कुन्ती शाही समेत उपस्थित भएको उक्तलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
समग्रमा देश र अहिलेको राजनीतिक अवस्थाबारे पार्टीगत कुराकानी भएको भेटपछि रेखा थापाले बताएकी छिन् । राजनीतिमा केपी ओली अभिभावक जस्तै व्यक्ति भएको भन्दै उनले छोरीहरुको अवस्थाबारे पनि छलफल भएको बताइन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावना बारेपनि कुराकानी भएको रेखाले बताइन् ।
केही दिनअघि एक टेलिभिजन कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीको प्रशंसा गरेकी थिइन् । एमाले अध्यक्ष ओली अहिले पनि युवा जस्तो व्यक्ति भएको भन्दै ओली देशलाई आवश्यक पर्ने व्यक्ति भएको बताएकी थिइन् ।
उक्त अभिव्यक्तिपछि उनलाई कतिपयले नेकपा एमाले प्रवेशको तयारी गरेको भनेर चर्चासमेत गरेका थिए । तर उनले आफू एमाले प्रवेश गर्न लागेको या राप्रपामै बस्न लागेको भन्नेबारे भने केही खुलाएकी छैनन् ।