Latest News

सकियो एमाले सचिवालय बैठक, यस्ता छन् महत्वपूर्ण निर्णय

Nepalese Times August 11, 2022 (2 Year ago)    325 Views

काठमाडौं –

नेकपा एमालेको सचिवालय बैठक सकिएको छ। बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदा लगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ ।

त्यस्तै बैठकले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन् ।

त्यस्तै जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै केन्द्रीय विभागका सचिवहरु रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यसैगरी, विभिन्न पार्टीबाट प्रवेश गरेका चारजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । बैठकले जीवन गौतम, धर्मदत्त देवकोटा, बृजेश गुप्ता र अमृत राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

त्यस्तै नवराज पौडेललाई केन्द्रीय सल्लाहकार मनोनयन गरिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

जीवन र धर्मदत्त माओवादीबाट एमाले प्रवेश गरेका हुन् भने बृजेश गुप्ता मधेसवादी दलबाट र अमृत राजवंशी कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए । त्यस्तै सल्लाहकारमा मनोनीत बागलुङका पौडेल केही दिनअघि कांग्रेसबाट एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस