Latest News

प्रधानमन्त्रीलाई प्रश्नः देशको सीमाना कति मिचियो भन्न सक्नुहुन्छ ?

Nepalese Times August 10, 2022 (2 Year ago)    307 Views

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ वा छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताएका छन्।

बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता खतिवडाले देशको चार किल्ला कहाँ छ भन्ने कुरा कुनैपनि नेतालाई थाहा नरहेको बताए।

उनले मेची र महाकाली सीमाना भनिरहँदा त्यसबीचका कति भूभागमा अतिक्रमण भएको छ भन्ने बारेमा सबै अन्जान रहेको बताए।

उनले प्रधानमन्त्री, राजनीतिक दलका नेता र पार्टी अध्यक्षले देशको ठिक सीमाना भन्न सकेको दिन सच्चा देशभक्त ठहरिने बताए। उनले देशमा आफ्नै नागरिक शरणाथी बनेर बस्नुपर्दा समेत राज्यसत्ता मौन र निःशब्द रहेको बताए।

उनले भने, ‘केही समयअघि मैले एउटा पार्टीको अध्यक्षलाई सोधेको थिएँ, के तपाईलाई मेरो देशको चार किल्ला ठ्याक्कै यो ठाउँमा हो भन्ने थाहा छ ? भनेर सोधेको थिएँ। आज मैले फेरि हाम्रो चार किल्ला मेची र काली त भन्यौँ तर मेची र काली भित्रको भूभाग पक्का हाम्रो छ भन्ने ग्यारेन्टी छ ? देशका प्रधानमन्त्रीले त्यो भन्न सक्नुहुन् ? राजनीतिक दलका नेताहरुले, पार्टीका अध्यक्षहरुले त्यो भन्न सक्नुहुन्छ ? म पूर्ण विश्वस्त छु, सक्नुहुन्न। देशको यो भूभाग यहीँ छ भनेर देखाइदिए सबै नेताहरु त्यही दिन देशभक्त र क्रान्तिकारी ठहरिनेछन्। आफ्नै नागरिकहरु देशभित्र शरणार्थीको रुपमा बस्न बाध्य छन् तर राज्य सत्ता मौन छ। निःशब्द छ।’

उनले सीमानामा काँडेतार लगाउनुभन्दा पहिला देशका राजनेता र राजनीतिक दलहरुले मस्तिष्कमा काँडेतार लगाउनुपर्ने बताए।

आफ्नै चुच्चे नक्शाको जिम्मेवारी लिन नसक्ने देशको राजनीतिक परिस्थितिले देशको सिमाना नजोगाउने उनको टिप्पणी छ । उनले भने,‘यसको लागि राष्ट्रिय सहमति आवश्यक छ । लिम्पियाधुरा मेरै हो भन्ने राष्ट्रको इच्छाशक्ति हुनुपर्छ । काँडेतार लगाऔं । सिमाना नियमन गरौं । भारतीय, चिनियाँ, अमेरिकी, भुटानी वा अरु कुनै देशका नागरिक, जो दक्षिण ढोकाबाट प्रवेश गर्नेहरुलाई रेकर्डमा रहँदैन भने कसरी सिमा व्यवस्थापन हुन्छ ? सिमानामा काँडेतार लगाउनुपर्छ भनेपनि त्यो लगाऔं । पासपोर्ट पनि जारी गरौं । तर, सिमा नियमन गरौं । केही भएन भने नेपालमा खुला सिमाना प्रयोग गर्नेहरुको लागि दर्ता किताबमा रेकर्ड राखौं ।’

 

प्रतिक्रिया दिनुहोस